Thursday, July 7, 2016

माओवादी केन्द्रको महाधिवेशन पुसमा गर्ने प्रस्ताव

काठमाडौँ, २३ असार । नेकपा (माओवादी केन्द्र)ले आगामी पुस २३ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबारदेखि जारी पोलिटब्युरोको बैठकमा पुसमा पार्टीको आठौँ महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ । एकीकृत नेकपा(माओवादी), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत विभिन्न दश वटा माओवादी घटक तथा समूहको एकतापछि गठन भएको माओवादी केन्द्रले महाधिवेशनको मिति तय गर्न लागेको हो ।

माओवादी केन्द्रका नेता दीनानाथ शर्माकाअनुसार भदौ महिनाभरमा सबै गाउँ सम्मेलन सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ । उहाँकाअनुसार असोज महिनाभरी नगर तथा जिल्ला सम्मेलन सम्पन्न गरिनेछ भने मङ्सिर महिनाभरमा सबै प्रदेश सम्मेलन सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको हो ।

“गाउँदेखि सुरु हुने सम्मेलन महाधिवेशनमा पुगेर सम्पन्न गर्ने गरी कार्ययोजना बनाइएको छ, पार्टीलाई सशक्त बनाउन गाउँ, नगर, जिल्ला तथा प्रदेशको सम्मलेन गर्ने, पार्टी एकतालाई मजबुत बनाउने गरी योजना तय भएको छ”–नेता शर्माले भन्नुभयो । यस्तै भदौ १ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ ।

यसैबीचमा सङ्गठन सुदृढीकरण तथा पार्टीको आन्तरिक तयारीमा पार्टी अगाडि बढ्ने निर्णय भएको नेता शर्माको भनाइ छ । राष्ट्रिय सहमतिको सरकारको विषयमा धारणा राख्दै आएको केन्द्रको पोलिटब्युरोको बैठकले आज कुनै पनि ठोस निर्णय भने गरेको छैन । सो सम्बन्धमा आवश्यक निर्णय लिन पार्टीको केन्द्रीय कार्यालयलाई जिम्मा दिइएको छ । बैठकमा नेता वर्षमान पुनले प्रस्तुत गर्नुभएको सङ्गठनात्मक प्रतिवेदनलाई आवश्यक सुझावसहित पारित गरिएको नेता शर्माले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...