बाल्टिमोर,अमेरिका,अगष्ट २१ | अमेरिकामा क्रियाशील नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ड कम्युनिटी (नासो) को आगामी तीन वर्षको कार्यकालका लागि गोपाल विश्वकर्मा अध्यक्षमा पुन:सर्वसम्मत चयन हुनु भएको छ | नासोको आइतवार यहाँ सम्पन्न पाँचौं अधिवेशनले दोश्रो कार्यकालका लागि विश्वकर्माको अध्यक्षतामा यसरी १५ सदस्यीय केन्द्रीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो | संस्थाको वरिष्ठ उपाध्यक्षमा धनवहादुर नेपाली भर्जिनिया,उपाध्यक्षद्वयमा दीपक हजारे वोष्टन र रामकृष्ण लकान्द्रे क्यालिफोर्निया चयन हुनु भएको छ ।
यसैगरी महासचिवमा पूर्णसिंह वराईली मेरिल्याण्ड,सचिवद्वयमा अर्जन वगाले कोलोराडो र तीर्थ सेवा परियार मेरिल्याण्ड चयन हुनु भएको छ । कोषाध्यक्षमा जगन विश्वकर्मा मेरिल्याण्ड र सदस्यहरुमा पविता परियार न्यू ह्याम्पसायर,करण सुनार न्यूयोर्क, दीपक परियार न्यूयोर्क,सीता परियार मेरील्याण्ड र सञ्जिता वराईलीलाई चयन गरिएको छ । नासोको पाँचौ अधिवेशनको उदघाटन अमेरिकाका लागि नेपालका राजदूत डा.अर्जुन कार्कीले गर्नु भएको थियो।कार्कीले नेपालको संविधान २०७२ विश्वका उत्कृष्ठ प्रजातान्त्रिक अभ्यास भएका मुलुकको भन्दा राम्रो भएको वताउनु भएको छ ।उहाँले मानव अधिकार,जनताको हक र सामाजिक मूल्यमान्यतामा संविधान उत्कृष्ठ भएको वताउनु भएको हो । राजदूत कार्कीले भन्नु भयो– नेपालको संविधान २०७२ले सम्बोधन गरेका समावेशिता र सामाजिक सुधारका विषयलाई कार्यान्वयन गरेर अगाडि वढन सबैको सहयोगी भावना जागृत हुनुपर्छ । राजदूत कार्कीले अगाडि भन्नुभयो –संविधानमा लेखिएका कतिपय विषयहरु खास गरी सामाजिक न्याय र समावेशीताका विषयलाई एकाध संशोधन गरेर मात्र सम्बोधन गर्न सकिदैंन । कार्कीले संविधानले ग्यारेन्टी गरेका विषयहरु र त्यसमा देखा परेका विभेद सम्वन्धि समस्यालाई निराकरण गर्ने चेतनामा परिवर्तनको खाँचो रहेको वताउनु भयो ।
कार्यक्रमलाई संम्बोधन गर्दे भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले संविधानको कार्यान्वयनमा चुनौती रहेको वताउनु भयो । उपाध्यायको भनाई थियो संविधानमा भएको व्यवस्था अनुसार तोकिएको समयावधि भित्र गर्ने पर्ने कामहरुको कार्यतालिका भएकाले ती कामहरु नभएको खण्डमा गम्भिर अवस्था आउन सक्छ । उपाध्यायले भन्नुभयो – तोकिएको समयावधि भित्र गर्नुपर्ने काम नभएको खण्डमा देश पहिलो संविधान सभा भन्दा अगाडिको अवस्थामा पुग्ने मेरो अनुमान छ । राजनीतिको समस्या पेचिलो भएको प्रसङ्ग उठाउँदै पूर्व मन्त्री समेत रहनु भएका उपाध्यायले सामाजिक विकृतिको अवशेषलाई निराकरण गर्नका लागि विवेक सम्मत मार्ग खोज्नुपर्ने धारणा राख्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दे मेरील्याण्ड पेन्सलभेनिया राज्यका लागि अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतले नासो समुदायको पाँचौ अधिवेशन सफलताको शुभकामना दिनु भयो ।
नासो कम्युनिटिका अध्यक्ष गोपाल विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरुले सामाजिक कुरितीको रुपमा रहेको छुवाछुत प्रथाको निराकरणका लागि आर्थिक सामाजिक रुपान्तरणको खाका पस्किन नेपाल सरकारसँग अनुरोध गरेका छन् । नासो समुदाय अमेरिकामा दलितको क्षेत्रमा क्रियाशील संस्था हो ।
समाचार सौजन्य :ग्लोब नेपाल
No comments:
Post a Comment