Saturday, August 6, 2016

सङ्घीयता जटिल समस्या बन्दैछ : बिजुक्छे

timthumbभक्तपुर, २३ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सङ्घीयता देशका लागि जटिल समस्या बन्दै आएको बताउनुभएको छ ।

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले यहाँ आफू र विभिन्न युवा तथा विद्यार्थी सङ्गठनका पूर्व तथा वर्तमान नेतृत्वबीच गरेको अन्तक्र्रियामा नेता बिजुक्छे सात दलले सञ्चालन गरेको २०६२÷०६३ को जनआन्दोलनमा सङ्घीयताको मुद्दा नउठेको बताउँदै भन्नुभयो, “जनआन्दोलनको माग सङ्घीयता होइन तर आन्दोलन सफल भएपछि सङ्घीयताको विषय बाहिरबाट जबर्जस्ती ल्याएर लादियो ।”

सङ्घीयताभन्दा पनि सरकारले स्थानीय निकायलाई स्वायत्तता प्रदान गरेर स्थानीय निकायलाई ५० प्रतिशत बजेट दिएको भए देशको छिटो विकास हुन सक्ने उहाँको धारणा थियो । नेपाल अन्तर्राष्ट्रिय क्षेत्रको राजनीतिक चलखेल गर्ने क्षेत्र बनाउन नहुनेमा जोड दिँदै उहाँले सङ्घीयताका विषयाम विदेशीले चलखेल तीव्र पारेको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले काँग्रेस, नेकपा (एमाले) र नेकपा( माओवादी केन्द्र ) देशका विषयमा विभाजित भइरहने हो भने देश कमजोर हुने बताउँदै विचारमा फरक भए पनि समुन्नत नेपाल बनाउन सबै पार्टी एकै ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो ।
अनेरास्ववियुका पूर्वअध्यक्ष एवम् नेकपा (एमाले)का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जहाँ समस्या छ, त्यहीँ समाधान खोज्नुुपर्ने औँल्याउँदै भन्नुभयो, “सङ्घीयता हाम्रो विषय होइन, अहिले बनाएको राज्य पुनःसंरचनाको खाका उपयुक्त छैन ।”

अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले भौगोलिक विभाजन मात्र गरेर सङ्घीयता सम्बोधन नहुने बताउनुभयो । माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य दिलीपकुमार प्रजापति, अनेरास्ववियुका अध्यक्ष नवीना लामा, नेक्राविसङ्घका अध्यक्ष निरज लवजू, अनेरास्ववियु (छैटौँ) का अध्यक्ष कृष्ण अधिकारी र पूर्वअध्यक्ष दुर्गा शर्मा , विद्यार्थी नेता पूर्णबहादुर सिंह लगायतले युवा वर्गमा राजनीतिक वितृष्णा पैदा भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने बेला आएको औँल्याउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...