काठमाडौँ, ११ भदौ । प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्व सांसद बालाराज कार्कीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।
लामो समयदेखि प्रवास र जेल जीवन बिताउनुभएका स्व कार्कीको शुक्रबार साँझ ८३ वर्षको उमेरमा निधन भएको थियो । पशुपति आर्यघाटमा उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकको ठूलो उपस्थिति थियो ।
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले स्व कार्कीको पार्थिव शरीरमा काँग्रेसको झन्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
स्व कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्न नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, ओमकार श्रेष्ठ तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि, सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की लगायत मन्त्रीहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरु, पत्रकार महासङ्घका अध्यक्षलगायत आर्यघाट पुग्नुभएको थियो ।
स्व कार्कीको पार्थिव शरीरमा उहाँका छोरा गणेशराज कार्कीले अग्निदीप दिनुभएको थियो ।
कार्की २०४८ सालमा ओखलढुङ्गाबाट काँग्रेसका तर्फबाट निर्वाचित सांसद हुनुहुन्थ्यो ।
No comments:
Post a Comment