Sunday, August 21, 2016

जातिय विभेदको अन्त्य नहुनुमा मुलत: जनचेतनाको अभाव देखिनु हो – प्रकाश श्रेष्ठ

PRAKASH SHRESTHA

संसारमा मानविय विकाश उत्कर्षमा पुगिसकेको अवस्था छ तथापी नेपाल जस्तो विकासोन्मुख मुलुकमा राजनितिक परिवर्तनले छलांग मारिसकेको सन्दर्भमा समेत कानुनमा कुनै किसिमको विभेद नरहेपनि व्यवहारमा अझैपनि निश्चित समुदायहरु सामाजिक, सांस्कृतिक, राजनितिक, शैक्षिक, स्रोत र साधनको पहुँचका हिसावले पछाडी परिरहेको हामीले सहजै देख्न, सुन्न र भोग्न बाध्य छौ ।

परम्परागत मुल्य-मान्यता र संस्कारमा देखिएको अन्धविश्वास, विकृति, कुरिती, गलत धारणा र विश्वासका कारणहरु केही जाती, समुदाय, वर्ग, सम्प्रदाय, क्षेत्र राज्यको मुलप्रवाहमा सहजै घुलमिल हुन, आफ्नोत्वको अनुभुत गर्न, जायज आवाजहरु सम्वोधन गर्न, सामाजिक सहअस्तित्व, सहसम्बन्ध, स्वाभिमान र अधिकार सुनिश्चित गर्न सकिरहेको पाईदैन । यसो हुनुमा कतिपय अवस्थामा पुरातन सोच, मुल्य-मान्यतालाई परिवर्तन गर्न नसक्नु र कतिपय अवस्थामा सम्वन्धीत पिछडिएको वर्गलाई नेतृत्व गर्ने वर्गकै व्यक्तीहरुको निजी स्वार्थ र गैरजिम्मेवारीपन समेत जिम्मेवार देखिन्छ ।

अहिलेको एक्काईसौ शताव्दी वा आधुनिक समयमा आईपुग्दा समेत हाम्रा परम्परागत विभेदकारी सोचका कारण समाजमा कतिपय जात-जातीहरु, भाषाभाषिहरु दविएका, हेपिएका, हिंसा र शोषणमा परेका छन् । खासगरि नेपाली समाजमा दलित भनेर नामांकन गरिएको कथाकथित तल्लो जात भनेर भनिने समुदाय आज पनि समाजबाट प्रत्यक्ष-अप्रत्यक्षरुपमा तिरस्कृत र अपहेलित छ अनि अपहेलित भएको, उत्पीडनमा परेको महशुष गरेको छ । यतिभनिरहदाँ विगतमा झै समाजबाट निकै पछि पारिएको, राज्यको निकायहरुमा प्रतिनिधित्व नगराईएको भन्ने कुरामा पुर्ण सहमत हुन भने सकिदैन, पहिला भन्दा उल्लेखनिय रुपमा राज्यका हरेक अंग र तप्कामा दलित समुदाय, उत्पीडित वर्गले समावेशिताको अवधारणा अनुसार आवस्यक अधिकार दिन खोजिएको छ र त्यसको संकेत कतिपय ठाउँहरुमा देखिएको पनि छ ।

यति हुँदाहुँदै पनि अझैपनि दलितहरु वीचमै आपसी अन्तरसंघर्षहरु, छुवाछुत र आपसमै ठुलो सानो जातको नाममा अन्तरविभेद विद्यमान छ । जस्तोकी उदाहरणको रुपमा गन्धर्वले छोएको पानी, खानेकुरा सार्की, कामी, दमाई जातीले नखाने र पहाडतिर दमाई, कामी, सार्कीहरु वीचमै अन्तरजातिय विवाह समेत गर्न हिच्चकिचाएको देखिन्छ साथै आपसमै कुन जाती ठुलो र सानो भनेर प्रतिस्पर्धा गरेको पनि देखिन्छ । अझै भन्नुपर्दा आपसमै एउटा दलित समुदायले अर्को समुदायलाई दमन गरेको समेत देखिन्छ । त्यस्तै गरि फलानो जात भनेर दलित समुदायको जातको नामले पुकार्दा( बोलाईदा) समेत विभेद गरेको सम्झिन्छ र सकभर जात छिपाउने गरि उपल्लो जात भनिनेहरुको थर समेत प्रयोगमा ल्याईन्छ र जात समेत कतिपय ठाउँमा ढाटिन्छ वा भन्न हिच्किचाईन्छ जसले गर्दा स्वाभावैले दलितहरुले आफ्नो जात र थर प्रतिनै गौरभ गर्न नसकिरहेको हो की भन्ने भान समेत पर्न गएको पाईन्छ ।

अहिलेको समाजमा कुनै जात र थरले त्यसलाई उचोनिचो भनेर हेरिने हैनकी उसको क्षमता, दक्षता, लगनशिलताले उसलाई महान बनाउने हो भन्ने कुरा सबैले बुझ्नु पर्छ र सबैभन्दा पहिला त आफु जुनसुकै जातजाती भएपनि त्यसमा गौरभ गर्न सक्नु पर्छ । जातजाती र थरकै प्रयोग नहुने हो भने सम्भवत मान्छेहरुलाई आपसमा नामले चिन्न समेत कठिनाई हुन्थ्यो होला त्यसैले पनि परापुर्वकाल देखि त्यस किसिमको चलन चलेको एकहद सम्म हुनु पर्छ । यद्यपी त्यसको प्रयोग गलत किसिमले भयो र जातजाती र थरकै आधारमा ठुलो-सानो, पानी चल्ने-नचल्ने भनेर वर्ग विभाजन हुन गएको हुनुपर्छ । त्यतिवेलाका शासकहरुको मनोगत चाहना र आफ्नो मुठ्ठीमा दवाएर राखिराख्न र निरंकुश शासन चलाउन समेत यसकिसिमको प्रथाले मान्यता पाएको हुनपर्छ । यस्ता विभेदहरु संसारका हरेक मुलुकमा विभिन्न तवरबाट हुने गरेका कुराहरु पढ्न, सुन्न पाईन्छ । त्यसो त विकसित देश अमेरिकामा समेत कुनै समय मानिसलाई दासको रुपमा व्यवहार( किनवेच गर्ने) गर्ने गरिएको, रंगभेद भएको थियो र अझैपनि नजानिदो रंगभेद व्यवहारमा छ भनेर भन्ने गरिन्छ ।

त्यसैले मानव विकास क्रममा यस्ता विभेद जातियरुपमा, वर्गियरुपमा, क्षेत्रीय, लैंगिक, धार्मिकरुपमा हुँदै आएका छन् र यसको अन्त्य हुनुपर्ने आवाजहरु अन्तर्राष्ट्रिय तवरमा विभिन्न फोरममा उठ्ने गरेका, कानुन समेत बनेका छन् । मानवाधिकार सम्बन्धी राष्ट्रिय-अन्तर्राष्ट्रिय कानुन बनेर लागु भएका पनि छन् तथापी अझै पनि मानिसहरुमा चेतनाको अभाव, दम्भ-घमण्ड र हैकमवादी संस्कारले पुर्णरुपमा कुनै पनि ठाउँमा यस्ता सामाजिक विभेद अन्त्य भएको पाईदैन । त्यसमा पनि नेपालमा यस्तो विभेद सर्वत्र छ ।
हिमाल, पहाड, तराईमा बस्ने विभिन्न समुदायलाई छुवाछुत र अन्य जातिय विभेद गर्ने गरेका घटनाहरु देखिन्छ । यसमा कानुन त यस्ता विभेद दण्डनीय मानिन्छ तापनि व्यवहारमा घटनाहरु घटिरहेका छन् । सार्वजनिक स्थल, मठमन्दिरहरु, विवाह-वर्तवन्ध, भोजभतेर लगायतका कार्यक्रममा समेत कतिपय स्थानहरुमा अझैपनि छोईछिटो गरिने, प्रवेशमा रोक लगाईने चलन चलेको देखिन्छ । त्यसमा ठुला भनिने जातको रवैया त छदै छ अर्को तर्फ स्वयं ती दलित मानिने समुदाय पनि दोषी छन् किनकी उनीहरु संगठितरुपमा प्रतिरोधमा नलागी विभेदलाई नजरअन्दाज गरिरहेको वा मैनरुपमा स्विकार गरेको पनि पाईन्छ ।

त्यस्तै तिनै दलितहरुको प्रतिनिधी पात्रहरु उच्च ओहोदामा पुगेपछि आफैले दलित समुदायलाई नै उपेक्षाको हिसावले हेर्ने र उनीहरुको विभेदका कुराहरु संशक्तरुपमा सम्वन्धीत निकायमा राख्न नसक्ने, पानी माथीको ओभानो बन्न खोज्ने, आफ्नो वास्तविक धरातललाई विर्सने, व्यक्तिगत लाभमा चुर्लम्म डुब्ने गरेको पनि पाईन्छ । त्यस्तै आफ्नो समुदायका समस्याहरु र कठिनाईहरु संगठित र एकिकृतरुपमा साझा आवाजको रुपमा सम्बन्धित निकायमा पुर्याउन, अन्य जातजातीहरुमा समेत आफ्नो प्रभाव सकारात्मक ढंगबाट पारेर व्यवहारमा परिवर्तन गर्न नसकिरहेको देखिन्छ । आफुहरु सधै हेपिएको, दविएको महशुष गर्ने तर आफ्ना समुदायको व्यक्तीहरुलाई शिक्षित बनाउन, आर्थिक रुपमा सबल बनाउन, राजनितिक रुपमा जिम्मेवार बनाउन भने सकिरहेको पाईदैन ।

अत: राज्यबाट अधिकार मागेर मात्र हैन, आफुहरु समेत अधिकार प्राप्ती र उपभोगमा जिम्मेवार बन्न खोज्नु पर्छ । आफ्नो शोषित समुदायलाई सक्षम, सवल बनाउने कार्यक्रम लागु गर्न सामुहिकरुपमा लाग्नु पर्छ र सबैभन्दा पहिला आफु समाजमा हेपिएको जात र समुदाय हो भन्ने मनोभावनालाई मनबाट हटाई उचित अवसर पाए जे पनि गरेर देखाउन सक्छौ र आफ्नो जात र थर प्रति सधै गौरभ छ भन्ने भावनाको विकास हुनुपर्छ ।

बाहुनलाई बाहुन, क्षेत्रीलाई क्षेत्री, नेवारलाई नेवार भन्दा कुनै अफ्ठ्यारो नहुने तर सार्कीलाई सार्की र दमाईलाई दमाई भन्दा जातिय विभेद गर्यो, जातिय दुर्व्यवहार भयो भन्ने मान्यता र धारणा राखियो भने कहिल्यै पनि जातिय सम्मान र जातिय विभेदको मनोदशाबाट छुट्कारा पाउन सकिदैन । मानौकी जो कोही अमेरिका, बेलायत, अन्य युरोपियन मुलुकमा गएर काम गर्दा, रहँदा जुनसुकै जातको थर नामको पछाडी जोडिएको होस् त्यसलाई कुनैपनि तवरबाट विभेद गरिदैन तरपनि ती देशमा समेत दलित र उत्पीडनमा परेको जात मानिनेहरुले अन्य जात र थरको साथ लिएर नामको पछाडी झुण्डाउने गरेको पनि पाईन्छ जस्तै थापा, बोहरा, घिमिरे, गौतम आदी । अर्थात् जुन जात र समुदायले हेपिएको, विभेद गरेको मानिन्छ त्यसकै जात र थर राखिएको पाईन्छ ।

यसले पनि के देखाउँछ भने हाम्रो मानसिकतानै सानो र ठुलो जात, शोषक र शोषित वर्ग, अवसर पाउन सक्ने र नसक्ने भनेर मनभित्रबाटै विभक्त मनस्थिती लिएर हिडिरहेका छौ भने जतिसुकै जातिय र छुवाछुतको अन्त्यको नारा दिएपनि प्रभावकारी हुन सक्दैन । तसर्थ सबैभन्दा पहिला आफैले आफ्नो जातिय परिचय माथी गौरभ मानेर समाजमा भएको विभेदलाई अन्त्य गर्न आपसमा हातेमालो गरेर जनस्तरमा चेतनामुलक कार्यक्रमको विस्तार गरेर तल्लो तह वा ग्रासरुटबाटै व्यवस्थित र संगठित कार्यक्रम लागु गर्न सक्नु पर्छ ।

आधुनिक संचारका माध्यमहरुबाट समेत जनचेतना फैलाउने कार्यक्रमहरु लागु गर्दै आपसमा भावनात्मक सहसम्बन्धलाई कायम राख्दै अन्धविश्वास र कुरितीलाई तोड्नको लागी आमव्यक्तीहरुमा मानवियताको भावना जगाउँदै आमव्यक्तीहरु सबै एउटै मानव समुदाय हौ र सबैको आधारभुत जैविक संरचना एउटै हो, मानसिक कार्यक्षमता पनि समान छ मात्र सोचको दरिद्रताका कारण जातिय विभेद गर्ने गरिएको हो भन्ने भावनालाई अात्मसाथ गर्ने वातावरणको जव सम्म परिस्थिती सृजना गरिदैन तवसम्म राज्यबाट बनाएका कुनैपनि एेन, नियम, कानुनले मात्रै सामाजिक छुवाछुत र जातिय विभेद अन्त्य हुँदैन ।

त्यसैले सबै जातजातीहरु, धर्मालम्बीहरु, सामाजिक संघसंगठनहरु मिलेर यस्तो सामाजिक विभेदको अन्त्य गर्न सशक्त ढंगबाट लाग्नु पर्ने हुन्छ । यसको लागी सबैभन्दा महत्वपुर्ण कुरा हेपिएका भनिएका समुदायमा शैक्षिक जागरण र आर्थिक, व्यवसायिक एवं रोजगारीको अवसरमा पहुँच भरपुर मात्रामा हुनुपर्छ । केवल NGO, INGO बाट प्राप्त आर्थिक सहयोग हजाम गर्न राजधानीका महंगा तारे होटलहरुमा सभा, सेमिनार संचालन गरेर मात्र कुनै सार्थक उपलव्धी जातिय, लैंगिक विभेदको लागी हुन सक्दैन जव सम्म सरोकारवाला समुदाय समक्षनै प्रभावकारी कार्यक्रमहरु पुराउन सकिदैन । अन्तमा नेपाल एउटा जातिय, धार्मिक, सांस्कृतिक विविधता भएको मुलुकमा सबै जातजातीहरु र धार्मिक आस्था भएका व्यक्तीहरु वीच सौहार्दपूर्ण वातावरण सधै कायम रहोस् र मन एवं भावनामा नेपाली भएर नेपाल भित्र र बाहिर समेत मिलेर सँगै बाँच्न पाईयोस् यही कामना छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...