Wednesday, August 24, 2016

अमेरिकीमा नेपाली फोटोग्राफरहरुको पीडा- प्रकाश श्रेष्ठ

prakash 1

मानिसका जीवनका हरेक क्षणहरुको आ-आफ्नै महत्व एवं औचित्य रहेको हुन्छ । त्यस्ता क्षणहरुलाई दिमागमा कैद गरेर राख्नको लागी त्यस्ता अविस्मरणीय क्षण, पल, अवस्थालाई स्मरण गराईरहन र समय-समयमा पुनर्ताजकी बनाईरहने माध्यम फोटोहरुको संकलन वा फोटो एल्बम बनाएर राख्ने, भिडियो तयार गरेर राख्ने आदी जस्ता दृश्य एवं श्रव्य झल्कने माध्यमबाट हुन सक्छ । भनिन्छ जीवनका क्षणहरु फोटोग्राफरको क्यामेरामा कैद गरेर राखिएको छ भने त्यसले विगतलाई पनि फर्केर हेर्न र त्यसैमा रमाउन वा मनलाई केन्द्रित भएर उक्त क्षणको झलकहरुलाई दिमागको स्मृती चिन्हहरुमा स्थायीरुपमा रेकर्ड गरेर राखिराख्न सकिन्छ ।

हामीलाई थाहाँ छ हामी कतिपयका बाबु-बाजेका पालामा अहिलेको जस्तो अत्याधुनिक प्रविधीहरुको विकास भएको थिएन जसले गर्दा उनीहरुको तस्वीरहरु व्यवस्थित गरेर राख्न सकिएन वा त्यो मौकानै मिलेन र कतिपयको बाबुआमा सानै छदाँ देहान्त भएको हुन सक्ने र उनीहरुको तस्वीरहरुको अभावमा विस्तारै उनीहरु मस्तिष्कबाट विस्मरण भएका हुनसक्ने पनि हुन्छ । यदी त्यो बेला अहिलेको जस्तो प्रविधी भएको भए सायद उनीहरुको तस्वीरहरु एल्वमको रुपमा रहेको हुन्थ्यो र समय समयमा हेरेर अतितलाई सम्झन सकिन्थ्यो ।

विकासित देशहरुमा धेरै बर्ष पहिलेबाट रंगिन फोटोहरु धुलाने प्रचलन भएपनि नेपालमा भने यस्तो प्रचलन धेरै पछाडी मात्र भएको पाईन्छ । करिव ४० बर्ष पहिला त शहर बजारमा समेत Black & white मै फोटोहरु खिच्ने क्यामेराहरुको प्रयोग वा फोटो धुलाई हुने प्रचलन रहेको अनुमान गर्न सकिन्छ । विस्तारै विकासित देशहरुमा फोटोग्राफी क्षेत्रमा भएको विकासको प्रभाव नेपालमा समेत पर्न थाले पछि भने फोटोग्राफीलाई व्यवसायीक रुपमा अपनाउन थालियो र फोटो स्टूडियोहरु समेत राजधानी काठमाण्डौ लगायत अन्य शहर-बजारमा समेत विस्तार हुन थाल्यो ।

केही बर्ष पहिला सम्म पनि गाउँघरमा क्यामेरा हातमा लिएर फोटो खिच्ने व्यक्ती देख्दा ठुलै सम्पन्न व्यक्ती, भलाद्मी व्यक्ती रहेको जस्तो नजरले गाउँलेहरुले हेर्ने गर्दथे । समयको रफ़्तार सँगै प्रविधीले मारेको फड्कोले यसको प्रयोगले गाउँघर सम्म व्यापकता पायो र विशेष गरि कुनै विशेष अवसर र क्षणको पछाडी सम्मको सम्झना रहिरहोस् भनेर विवाह, ब्रतवन्ध, धार्मिक गतिविधी, दशै-तिहार, अन्य विशेष चाडवाडहरुमा हुने जम्काभेटमा फोटोहरु खिच्ने भिडियो खिच्न समेत थालियो र पछि पछि त कुनै नयाँ ठाउँमा घुमघाम गर्दा समेत क्यामेरा साथमै लिएर जाने र यात्राका क्रममा विभिन्न सिनहरुलाई क्यामेरामा कैद गर्ने र घर फर्केपछि परिवार एवं साथीभाईहरुलाई उक्त यात्राको बारेमा फोटोहरु देखाएर सविस्तार बर्णन गर्ने पनि चलन चल्यो ।

विस्तारै साधा लेन्सवाला क्यामेराहरुको सट्टा डिजिटल क्यामेराको प्रचलन चल्यो जसले गर्दा फोटोमा झनै गुणस्तरियता देखिन थाल्यो । त्यस्तै आवस्यकता अनुसार “जुम” मिलाएर अन्य टेक्निकल फङ्सन मिलाएर राम्रो तरिकाबाट क्यामेरामा फोटोहरु, सिनहरु कैद गर्न सकिने भयो । साथै सानै साईजको डिजिटल क्यामेराले पनि फोटो एवं छोटो भिडियोहरु समेत खिच्न मिल्ने सुविधा आयो । जसबाट खिचेका फोटोहरु मोमेरी कार्डमा राखेको हुनेहुदाँ फोटो स्टुडियोमा धुलाई गर्न र पर्सनल कम्प्युटरमा समेत फाईल बनाएर राख्न सकिने भयो । पछिल्लो समयमा आएर त झनै स्मार्टफोनहरुको प्रयोगसँगै झनै हरेकले फोटो खिच्न र भिडियो बनाउन सजिलो अवसर मिल्यो । त्यसैले अव फोटो खिच्न र भिडियो बनाउन कुनै आईतवार कुर्नु परेन अर्थात् चाहेको बेला फोटो खिच्न, भिडियो बनाउन सकिने भयो ।
यसरी दिनप्रतिदिन बढ्दै गएको प्रविधीले मानिसहरुलाई सबै कुरामा निकै सजिलो बनाउँदै गएको छ । फोटो खिच्ने र भिडियो तयार गर्ने सन्दर्भमा नै कुरा गर्ने हो भनेपनि सामान्य फोटोग्राफी सम्बन्धी तालिम नलिएका व्यक्तीहरुको लागी खासै फोटो खिच्नेबारे, लोकेसन छनौटबारे, फोटो कुन एङ्गलबाट कसरी लिदा राम्रो आउँछ, फोटोको गुणस्तरको लागी कस्तो किसिमको लेन्सवाला, कस्तो ब्राण्डको, कस्तो क्यापासिटीको क्यामेरा प्रयोग गर्ने, रंगहरुको छनौट र संयोजन कसरी गराउने, जुमहरु कसरी मिलाउने, नजिक-टाढाबाट फोटो लिदा कुन पोजिसनमा लिने, कस्तो समयमा कसरी फोटो लिने, फोटोको साईजहरु, फोटोको एडिटिंग जस्ता यावत टेक्निकल कुराहरु बारे अभगत गरेर राम्रो, गुणस्तरिय फोटो वा भिडियो तयार गर्ने बारे त्यति ज्ञान नहुन सक्छ जसको लागी भने राम्रो सँग फोटोग्राफीको तालिम, कोर्ष वा अध्ययननै गर्नुपर्ने हुन्छ साथै व्यवहारिक अनुभव पनि बटुलेका हुनु आवस्यक छ ।

कुशल फोटोग्राफर बन्न र फोटोग्राफीलाई पेशाको रुपमा अपनाउनको लागी भने व्यक्तिगत अभिरुचि, समर्पण, मिहिनेत र उत्कृष्ट फोटोग्राफी सिकाउने सिकाई केन्द्र वा स्कुलमा गएर तालिम वा अध्ययन गर्नुपर्ने नै हुन्छ । हुनत नेपालमा कतिपय फोटोग्राफर स्वअध्ययनबाट भएको पनि देखिन्छ तरपनि व्यवसायिक बन्न र प्रतिस्पर्धामा अव्वल ठहरिन भने व्यवसायिकरुपमै तालिम लिनु आवस्यक छ वा भनौ निश्चित तोकिएको कोर्ष पुरा गरेर राम्रो सँग प्राक्टिस गर्नै पर्ने हुन्छ । फोटोग्राफर भन्दा वित्तिकै सामान्य स्टुडियो चलाएर बस्ने फोटोग्राफर देखि भिडियो मेकिंग र फिल्म मेकिंगमा फोटो खिच्ने, भिडियो खिच्ने र छायांकन गर्ने, फोटो वा भिडियो सम्पादन गर्ने सम्म समावेश हुन सक्छन् तर यस आलेखमा व्यवसायिकरुपमा कुनै विशेष व्यक्तीगत एवं सामुहिक फङ्सनमा क्यामेरा चलाउने क्यामेरामेन वा फोटोग्राफर र फोटोग्राफी सम्बन्धी कामलाई उल्लेख गर्न खोजिएको हो ।

आजकल विशेषगरि फोटोहरु खिच्नको लागी प्रोफेसनल फोटोग्राफरको माग सर्वत्र बढेको छ किनकी विभिन्न कार्यक्रमहरु सामाजिक एवं व्यवसायिक संघ-संस्थाहरुमा तिव्ररुपमा बढेको पाईन्छ । त्यस्तै चाडवाड, पर्वहरुलाई पनि विशेष तडकभडकका साथ व्यक्तीगत एवं सामुहिकरुपमा मनाउने प्रचलन बढेको छ । मिडिया देखि संचारका अन्य माध्यमहरु पनि बढिरहेका छन् । अझै व्यक्तीगतरुपमा विभिन्न उत्सवहरु विशेष रुपमा मनाउने चलन चलेको छ, जन्मदिन, बच्चाबच्चीहरुको “भात खुवाउने” कार्यक्रम,धार्मिक पुजापाठ, विवाह बार्षिक उत्सव मनाउने देखि अनेकथरी नयाँ नयाँ उत्सवहरु नयाँ तरिकाले मनाउने चलन ह्वात्तै शहरबजार देखि गाउँघर सम्म चल्दै आएको छ र त्यो विशेष क्षणलाई अझै विशेष बनाउन प्रोफेसनल क्यामेरामेन/ फोटोग्राफरको प्रयोग गर्ने चलन पनि चलेको छ ।
त्यसो त राजनैतिक भाषणका कार्यक्रम देखि सामाजिक संघ-संस्थाहरुको कार्यक्रममा त यस्ता प्रफेसनल क्यामेरामेनको प्रयोग नगर्ने कुरै भएन । यसले गर्दा पनि नेपालमा नयाँ फोटोग्राफी कोर्ष गर्नेहरुको संख्या बढ्दो छ । तर नेपालमा समेत कतिपय सामाजिक संघ-संस्थाहरुले फोटोग्राफरहरुलाई उचित पारिश्रमिक दिन आनकानी गर्ने, सकभर भोलियन्टर काम गरिदिन अनुरोध गर्ने, काम गराईसके पछि सहमति अनुसारको पारिश्रमिक नदिने, काम गरेअनुसारको नाम र मानमर्यादा गर्न समेत कन्ज्युसाई गर्ने गरेको समेत गुनासो यदाकदा फोटोग्राफरहरुबाट सुनेको पाईन्छ । त्यसो त नेपालमा प्राविधिकरुपमा गरिने कामलाई खासै मुल्यांकन नगर्ने हल्काफुल्का कामको रुपमा लिने पुरानै चलन पनि हो ।

यस्तै अमेरिका लगायत विदेशमा समेत नेपाली फोटोग्राफरहरुले फोटोग्राफी पेशालाई जीवन निर्वाहको माध्यम बनाउने गरेको पाईन्छ । त्यसो त नेपालमा फोटोग्राफर र फोटोग्राफीको पेशालाई गौणरुपमा हेर्ने गरेझै सोही व्यवहार प्रदर्शित गर्नेहरुको कमि अमेरिका लगायत अन्य विकसित मुलुकमा रहेका नेपाली समुदायको सोचमा खासै फरक छैन भन्दा पनि अतियुक्ती नहोला ।

अमेरिका जस्तो श्रमको सम्मान गर्नु पर्छ भन्ने मुलुकमा समेत नेपाली फोटोग्राफरहरुलाई नेपाली समुदायको व्यक्तीगत विशेष उत्सव र पर्वमा साथै सामाजिक संघ-संस्थाहरुको कार्यक्रममा फोटोग्राफरको रुपमा बोलाईदा समेत उचित पारिश्रमिक नदिने, निकै मोलतोल गर्ने, न्युनतम पारिश्रमिक दिने, सकभर नेपाली संस्थाहरुले विना पारिश्रमिक काम गराउन खोज्ने र कहिलेकाही भोलियन्टर सर्भिसकै रुपमा काम गर्दा समेत कार्यक्रम चलिरहेको मंच वा रोस्टमबाट कामको प्रसंसा गरेर एक शव्द पनि नबोल्ने गरेको र आफुहरुको कामको कुनै महत्व नदिने गरेको तर थोरै आर्थिक सहयोग गर्नेहरुलाई खादा र सम्मानपत्रहरुले सम्मानित गरेको देखिन्छ र त्यही दृश्यलाई क्यामेरामा कैद गरेर सुन्दर तस्वीरहरु उपलव्ध गराउनु पर्दा भने आफ्नो आत्मसम्मानका सम्बन्धमा समेत आफैलाई प्रश्न गर्न मन लाग्ने तितो अनुभवहरु बर्षौ देखि क्यामेराको काम गरेर यस्ता सामाजिक संस्थाहरुलाई कतिपय अवस्थामा न्युन पारिश्रमिक र कतिपयबेला नि:शुल्क फोटोग्राफीको काम गरेका फोटोग्राफरहरुको तितो अनुभव पनि सुन्न पाईन्छ ।

यसरी नेपाली सामाजिक, व्यवसायिक संघसंस्थाहरु खोलेर काम गर्ने समाजसेवी, व्यवसायीहरुले सहयोगको नाममा एउटा पेशा गरेर परिवार धानिरहेका व्यक्तीहरुको वास्तविक समस्याहरु नबुझी कम पारिश्रमिकमा काम गराउन खोज्नु र कम शुल्क वा नि:शुल्क काम गर्दा समेत कामको मुल्यांकन शव्दमा समेत गर्न नसक्नु कति सम्म गैरजिम्मेवारीपन होला जो कोहीले अन्दाज गर्न सकिन्छ । त्यसैले कुनै पनि संस्थाले यस्ता पेशागत काम गरेर जीवन गुजारा गर्नेहरुलाई काम गराए वापत उचित पारिश्रमिक दिने गरौ बरु उनीहरुसँग आवस्यक पर्दा उनीहरुलाई खुशी बनाएर आर्थिक सहयोग वा चन्दा समेत लिने गरौ । यसो गर्दा उनीहरुले काम गरेवापत पारिश्रमिक र सामाजिक काममा सहयोग गरेवापत नाम र सम्मान पाउन सक्ने छन् ।

यस्ता सामाजिक संस्थाहरुले बुझ्नु पर्ने कुरा के हो भने कुनैपनि पेशागत दक्षता प्राप्त गर्न व्यक्तीहरुले धरै समय र आर्थिक लगानी गर्नु पर्छ, कलेजमा पढ्दा Government बाट Student Loan लिएर समेत पढ्नु परेको हुनसक्छ र एउटाको कमाईमा निर्भर रहेर बालबच्चाहरुको रेखदेख गर्नु पनि पर्छ भन्ने कम्तीमा लाटो हिसाव त गरिनु पर्छ नी त्यति सम्म गर्न सकिदैन भने नेपाली समुदायका पिरमर्कालाई कसरी सम्बोधन गर्न सक्षम भईएला सामाजिक संघ-संस्थाहरु स्थापना र संचालन गरेर ? अव नेपाली समुदायका संघसंस्थाहरुमा समेत यस्ता पेशागत कामको मुल्यांकन, आदार र सम्मान गर्ने संस्कारको विकास हुनु आवस्यक देखिन्छ ।

अर्को कुरा सामाजिक संघसंस्थाहरुमा संचालन खर्च मितव्ययी गर्ने नाममा श्रम गरेर जीवन गुजारा गर्नेहरुलाई मर्का पारेर काम गर्नु भने उपयुक्त हुँदैन बरु त्यस्ता व्यक्तीहरुलाई स्वतस्फुर्तरुपमा सहयोग गर्न लालयित हुने वातावरण सृजना गर्नु आवस्यक छ । अझै अमेरिकामा त आजकल एउटै हप्तामा दुई, तिनवटा सम्म यस्ता सामाजिक संघसंस्थाहरु, व्यवसायिक फोरमहरुको र नेपाली समुदायको विभिन्न जिल्ला सम्पर्क समितीहरुको कार्यक्रम विभिन्न कार्यक्रमहरु हुने गर्दछन् । त्यस्तै नेपाली चाडवाड मनाउने शैलीपनि तामझाम गरेर मनाउने चलन भईरहदाँ र विवाह, ब्रतबन्ध लगाय धार्मिक गतिविधी सम्बन्धी कार्यक्रम चलिरहदाँ वास्तवमा सबैतिर दक्ष फोटोग्राफरहरुको माग बढिरहेको पाईन्छ तसर्थ पनि सम्बन्धित पक्षले उनीहरुको व्यक्तीगत समस्याहरुलाई बुझेर सोही अनुसार व्यवहार गरि सेवा लिनु सान्दर्भिक हुन जान्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...