Thursday, August 25, 2016

त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो, १७ घाइतेको उद्धार

bus-accident-2चितवन, १० भदौ । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रिबस आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २० जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १७ जना घाइतेको उद्धार भएको छ ।

सो बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित बस हो । ग १ ख ३७०९ नंको सो बसमा गौरबाट ३० जना र चन्द्रनिगाहपुरबाट सातजना यात्रु चढेको समितिका महासचिव योगेन्द्र केसीले बताउनुभयो । अन्य दुईजना नदीमा हराइरहेको आशङ्का गरिएको छ । उनीहरुको खोजी कार्य जारी रहेको छ । चालक र सहचालकको अवस्थाबारे जानकारी हुन नसकेको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन नसके पनि अधिकांश यात्रु मुग्लिनबाट पोखरातर्फका भएको केसीले बताउनुभयो । आँबुखैरेनी, दमौली, खैरेनीटार र पोखरा क्षेत्रका यात्रु रहेको केसीले बताउनुभयो । बिहीबार साँझ ६ बजे सो बस गौरबाट छुटेको केसीले जानकारी दिनुभयो ।

बिहान ४ः४५ बजे बस त्रिशूलीमा खसेको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो । कुँवरको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोली उद्धारमा जुटेको छ ।

केही घाइतेलाई उपचारका लागि भरतपुरका अस्पतालमा ल्याइएको छ भने केहीलाई ल्याइँदैछ । मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ सडकबाट झन्डै एकसय मिटर तल बस त्रिशूली नदीमा खसेको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...