बागलुङ, १ भदौ । राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक तथा अन्तर्राष्ट्रिय समाचार विभाग प्रमुख एकराज पाठकको ‘ढोरपाटनका पत्र’ नामक पुस्तक सार्वजनिक भएको छ ।
ढोरपाटन राष्ट्रिय दैनिकको १३ आँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित एक समारोहमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्ट, पूर्व शिक्षामन्त्री दिनानाथ शर्मालगायतले उक्त पुस्तकको सामूहिक विमोचन गर्नुभयो ।
पुस्तकमा २०६९ भदौदेखि २०७२ चैतसम्म ढोरपाटन दैनिकमा प्रकाशित पाठकका पत्र समावेश छन् । पाठकले ढोरपाटन दैनिकमा ‘ढोरपाटनलाई राजधानीको पत्र’ स्तम्भ लेख्दै आउनुभएको छ । समाजका विविध मुद्दामा केन्द्रित बनी पत्रको शैलीमा लेखिएका पाठकका लेख÷विचारलाई ढोरपाटन दैनिकले पुस्तकाकारको रुप दिएको हो ।
दुईसय ६० पृष्ठको उक्त पुस्तकमा ७५ वटा पत्र सङ्ग्रहित छन् । पुस्तकको विमोचन गर्दै प्रमुख अतिथि विष्टले पुस्तक राजधानीलाई बाग्लुङसँग जोड्ने सेतुको रुपमा रहेको प्रतिक्रिया दिनुभयो । समाजलाई उत्प्रेरित र सु–सूचित गर्ने गरी पाठकले महत्वपूर्ण रचना नेपाली समाजलाई दिएको विष्टले बताउनुभयो ।
लेखक पाठकले आफूले ‘इतिहासको साक्षी’ का रुपमा पुस्तकलाई प्रकाशनमा ल्याएको उल्लेख गर्नुभयो । ‘अखबारमा आइसकेका पत्रलाई सङ्ग्रहको रुप दिन असजिलो पनि लागेको थियो, तर प्रकाशकले पनि प्रेरित गरिरहनुभयो’ पाठकले भन्नुभयो ‘यसले नेपाली समाजको तत्कालीन अवस्था, मनोविज्ञानलाई पनि चित्रित गरेको छ, भन्ने मेरो विश्वास छ ।’
उहाँले पुस्तकभित्र समावेश पत्रले प्रवाह गर्ने सन्देश मुलुकको राजनीतिक, सामाजिक परिस्थितिको उपज रहेको धारणा राख्नुभयो । पत्रकारिता प्राध्यापन समेत गर्नुहुने पाठकले संविधान घोषणासम्मका महत्वपूर्ण राष्ट्रिय घटनाक्रम समेत पुस्तकमा लिपिवद्ध भएको उहाँको भनाइ छ ।
पुस्तकमा पाठकका खोइ नारीलाई ठाउँ, भ्रष्टाचारविरुद्ध हा¥यो काठमाडौँं, के सिक्ने छिमेकबाट, दिवसै दिवसको नेपाललगायतका शीर्षकमा पत्र सङ्ग्रहित छन् ।
पुस्तकमाथि समीक्षात्मक टिप्पणी राख्दै अधिवक्ता राम शर्माले पुस्तक नेपाली समाजको ‘ऐना’ भएको विचार राख्नुभयो । उहाँले समृद्धि, सुशाासन, सामाजिक न्याय, विधिको शासन, जनउत्तरदायी प्रशासन जस्ता विषयमा पाठकले सशक्त ढङ्गले कलम चलाएको बताउनुभयो । रासस
No comments:
Post a Comment