Wednesday, August 24, 2016

कृष्णाष्टमी र गौरा पर्वमा राष्ट्रपतिको सन्देश

bidya bhandariकाठमाडौँ, ९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा आपसी एकता एवम् सद्भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

यस पर्वले बहुजाति, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त देशलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुगिरहेकाले हामी सबैले यसलाई निरन्तरता दिनु जरुरी भएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

‘‘भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज कुनै पनि मुलुकको सभ्यता र सम्पन्नताका सूचक हुन् । हामी सम्पूर्ण नेपालीले आफ्नो मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्भाव, सद्विचार र सत्कर्मलाई नछोडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई चिरकाल पर्यन्त अक्षुण्ण राखी मनुष्य जन्म सफल पार्न सकौँ”, सन्देशमा भनिएको छ ।

यसैगरी, सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा अति महत्वका साथ सदियौँदेखि मनाइँदै आएको गौरा पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

हरेक वर्षको भदौ महिनामा करिब एक हप्तासम्म मनाइने यो चाडले सबै नेपालीमा सहिष्णुता, सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै सबैबीच समझदारी र भाइचाराको भावना, सद्भाव, सहिष्णुता एवम् राष्ट्रिय एकता अझ सुदृढ गर्न सफल हुनेछ भन्ने विश्वास पनि राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...