Wednesday, August 24, 2016

भारतबाट फर्कँदा रोल्पाका एक किशोर बेपत्ता

लिबाङ (रोल्पा), ९ भदौ । अपरिचित व्यक्तिले दिएको पेप्सीकोला खाँदा भारतको हिमान्चल प्रदेशको कोनर भन्ने ठाउँबाट नेपाल फर्कँदा बेपत्ता भएका जिनाबाङ–८ रोल्पाका १७ बर्षीय विद्यार्थी दीपेन्द्र भण्डारीको खोजीका लागि उनकी आमा खुमा भण्डारीले जिल्ला प्रहरी कार्यालय रोल्पालाई अनुरोध गर्नुभएको छ ।

विसं २०७२ चैत २६ गते फुपाजु नाता पर्ने जिनाबाङ–८ कै ३० वर्षीय दीपक वलीसँग भण्डारी कक्षा ८ को परीक्षा दिई रोजगारीका लागि भारत गएका थिए । पारिवारिक स्रोतका अनुसार विद्यालय सञ्चालन भएपछि अध्ययनका लागि नेपाल फर्कने क्रममा ओत गाविस–८ रोल्पाका १८ वर्षीय देवराज वलीसँग संयोगवश भण्डारीको भेट भयो ।

परिवारका अनुसार साउन २७ गते भण्डारी र वली नेपाल फर्कंदा भारतको चण्डिगढको अम्बला भन्ने स्थानमा आएपछि उनीहरुले बाटो बिराए । त्यसैबेला अन्य तीनजना नेपाली युवासँग भण्डारी र वलीको भेट भयो । उनीहरु पाँचजना सँगै बसेर पेप्सीकोला खाए ।

त्यसपछि बेहोस भएर लामो समयपछि देवराज ब्यूँझदा ती नेपाली युवा र दीपेन्द्र त्यहाँ थिएनन् । देवराज त्यहीँ पहिले बसेको फिल्डमै सुतिरहेको अवस्थामा थिए । उनको साथमा एक रुपैयाँ पनि थिएन, अनि नजिकैका व्यापारीसँग गाडी भाडा मागेर देवराज भदौ २ गते नेपाल आइपुगे तर भण्डारी अहिलेसम्म सम्पर्कमा आउन नसकेको प्रहरी निरीक्षक केशबबहादुर बस्नेतले जानकारी दिनुभयो ।

निरीक्षक बस्नेतका अनुसार हराइरहेको छोराको खोजतलासका लागि सोमबार भण्डारीकी आमाले जिल्ला प्रहरी कार्यालय रोल्पामा निवेदन दिएपछि निवेदकलाई आवश्यक सहयोगका लागि हुलियाको परिपत्र गरिएको छ ।

मङ्गलबार भण्डारीकी आमासहित देवराज वली र अर्का एकजना आफन्त भण्डारीको खोजीका लागि भारत हिँडेको प्रहरी नायब निरीक्षक मीनबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार भण्डारीका बुबा करिब २ वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा हुनुहुन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...