जाजरकोट, १८ साउन । यहाँका नेपाल खाद्य संस्थानस्थित डिपोमा १६ वर्षपछि कर्मचारी गएका छन् ।
रग्दाको चौखा खाद्य डिपोमा खरिदार चेतमान कठायत, नायकवाडाको घाट खाद्य डिपोमा नायब सुब्बा दीपक अर्याल र पजारुको घोगी खाद्य डिपोमा कमानसिंह राना १६ वर्षपछि कर्मचारीको रुपमा गएका हुन् ।
तर दशेरामा डिपोमा भने अझै कर्मचारी गएका छैनन् । विसं २०५७ मा तत्कालीन विद्रोही माओवादीका कारण विस्थापित भएका खाद्य डिपो लोकतन्त्रको स्थापनासँगै २०६३ सालमा पुनःस्थापित भए पनि कर्मचारी गएका थिएनन् ।
खाद्य डिपो पुनःस्थापना भएपनि ढुवानी अनुदानको चामल ठेकेदारले लिने र आफैँले बेच्ने गरेका थिए । डिपोमा कर्मचारी नहुँदा अधिकांश ठेकेदारले ढुवानी अनुदानको चामल बाटोमै बेच्ने गरेका थिए ।
डिपोमा कर्मचारी गएसँगै चामल ढुवानी र वितरणमा सहजता आएको छ । कर्मचारी डिपोमा बस्न थालेपछि स्थानीयले चामल पाउन थालेको चौखाका किशोर मल्लले बताउनुभयो । कर्मचारी व्यवस्थापन भएपनि खाद्य डिपोका भवन मर्मत नहुँदा खाद्य गोदाम र आवासमा समस्या देखिएको छ ।
रग्दाको चौखामा रहेको खाद्य डिपोको आफ्नै भवन छ तर भवन अहिलेसम्म मर्मत नहुँदा चामल भाडाको घरमा राखिएको खाद्य संस्थान चौखा खाद्य डिपोका खरिदार चेतमान कठायतले बताउनुभयो । उहाँले अफिसको क्वाटर हुँदाहुँदै मर्मत अभावमा आफू पनि भाडाको घरमा बस्नुपरेको बाध्यता सुनाउनुभयो ।
No comments:
Post a Comment