काठमाडौं, १९ भदौ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले विपक्षी दलले साथ नदिएपनि संविधान संशोधन प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।
कांग्रेस र माओवादी नेताहरुको भनाईअनुसार वर्तमान सरकारले मधेसका माग पूरा गर्ने भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले सहमत नभएपनि संविधान संशोधन प्रस्ताव अघि बढाउन लागेको हो ।
यो प्रक्रिया दशैभन्दा अगाडि नै अघि बढ्ने माओवादीका एक नेताले बताए । अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड नजिकका उनी भन्छन्- ‘प्रधानमन्त्रीज्यू भारत र अमेरिका भ्रमणबाट फर्किएपछि संशोधन प्रक्रिया अघि बढ्छ । साथ दिने नदिने एमालेको कुरा हो । प्रक्रिया अगाडि बढाउन तयारी भइसक्यो ।’
संविधान संशोधनका लागि उपप्रधानमन्त्री बिमलेन्द्र निधि मार्फत भारतमा छलफल गरेर तयारी गरेको सरकारले प्रमुख प्रतिपक्षी लगायत संसदमा रहेका दलहरुसँग भने छलफल गरेको छैन ।
संविधान संशोधनका लागि दलीय छलफल र संशोधन प्रक्रिया एकसाथ अघि बढाउने सरकारको तयारी छ । प्रदेशहरुको सीमाना पुनरावलोकन, नागरिकता प्रावधानमा संशोधन लगायतका विषयमा संविधान संशोधन गर्नुपर्ने विषयमा निधि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच छलफल भएको थियो ।
प्रमुख प्रतिपक्षी दल एमालेले भने संविधान संशोधनको आवश्यकता र औचित्य पुष्टि गर्न माग गरेको छ ।
एमाले सचिव योगेश भट्टराईले तत्काल संविधान संशोधन हुन नसक्ने बताए । उनले भने- ‘औचित्य र कुनै आधारविना दुई चार जनाको स्वार्थपूर्तिका लागि संविधान संशोधन हुँदैन् । एमालेले सहयोग गर्दैन् ।’
यता संविधान संशोधन प्रक्रियामा मधेसी मोर्चाले खुलेरै साथ दिने भएको छ । सद्भावना पार्टीका महासचिव मनीष सूमनले मधेसका माग पूरा गर्न सरकारले अघि बढाउन लागेको संशोधन प्रक्रियामा आफूहरुको पूर्ण साथ र समर्थन रहने बताए ।
No comments:
Post a Comment