काठमाडौँ, १९ भदौ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि कर्मचारीको सहयोग आवश्यक हुने बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) को २७ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनअघि मधेसी मोर्चासँग वार्ता गरी समस्या समाधान गरिने बताउनुभयो । “मधेसी मोर्चालाई संविधानमा सहमत गराई स्थानीय, प्रादेशिक र सङ्घीय (केन्द्रीय) निर्वाचन गराउनु सरकारको प्रमुख प्राथमिकता हो, भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी कामलाई पनि प्राथमिकता दिइनेछ, यी काम सम्पन्न गर्न कर्मचारीले निष्पक्ष भई काम गर्नुपर्छ”–उहाँले भन्नुभयो ।
नेपाली काँग्रेसकी नेत्री एवम् सांसद कमला पन्तले सरकारमा काँग्रेसका मन्त्रीहरुले आफ्नो प्रभाव राख्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा सङ्घका अध्यक्ष एवम् आधिकारिक ट्रेड युनियनका महासचिव सुबोधकुमार देवकोटा, पूर्वअध्यक्षद्वय भवानीप्रसाद थानी र भानुभक्त ढकाल, महासचिव जितबहादुर मडैलगायतले जनमुखी सेवा प्रवाह गर्न स्थायी सरकार कर्मचारी लाग्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा स्मारिका ‘कर्मचारी’ को विमोचन गरिनाका साथै पूर्वसचिवद्वय माधवप्रसाद रेग्मी र विश्वप्रकाश पण्डित, पूर्वउपसचिव रामहरि अर्याल तथा शाखा अधिकृतद्वय श्यामजङ्ग कार्की एवम् सुदर्शन दवाडी लगायतलाई लामो समय सेवा गर्नुभएकामा सम्मान गरियो ।
No comments:
Post a Comment