Sunday, October 9, 2016

घरबाट हराएका युवकको शव फेला

कञ्चनपुर, २३ असोज । घरबाट हराएको एक सातापछि कञ्चनपुरको बेलौरी नगरपालिका–१३ सडक घाटका ३२ वर्षीय रामसिंह चौधरीको शव प्रहरीले फेला पारेको छ ।

घरबाट असोज १६ गते हराएका चौधरीको शव शनिबार साँझ सडक घाटमै फेला परेको बेलडाँडीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । शव सडेको अवस्थामा भेटिएको ।

छोरालाई विद्यालयबाट घर पु¥याएर चौधरी खेतमा धानका मुठा बाँध्न भनी हिँडेपछि बेपत्ता भएका थिए । प्रहरीले चौधरीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

पश्चिमी सीमानाकाबाट युवतीलाई उद्धार

पश्चिमी सीमानाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुर शाखाले एक युवतीलाई उद्धार गरेको छ ।

शनिबार साँझ काठमाडौँबाट नयाँ दिल्लीका लागि हिँडेको बसमा जाँचका क्रममा नयाँदिल्ली हुँदै वैदेशिक रोजगारीका लागि किर्गिस्तान जान भनी हिँडेकी ललितपुरकी २५ वर्षीया एक युवतीलाई उद्धार गरेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

“युवतीसँग वैदेशिक रोजगारमा जानका लागि चाहिने आवश्यक कागजपत्र नपाइएकाले जोखिममा पर्नसक्ने भन्दै उद्धार गरेका हौँ” उहाँले भन्नुभयो ।

उद्धार गरिएकी युवतीलाई सो संस्थाको आवधिक गृहमा राखिएको छ । युवतीसँगै आएका नरेन्द्र महत नाम गरेका युवक भने बसका सहचालकको सहयोगमा फरार भएको बताइएको छ ।

माइती नेपालले तीन महिनाको अवधिमै पश्चिमी सीमानाकाबाट १०२ जना महिलालाई उद्धार गरेको जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...