Sunday, October 30, 2016

रानीपोखरी स्थित बालगोपालेश्वरको दर्शन गर्न नपाइने

aaaकाठमाडौँ, १४ कात्तिक । रानीपोखरीको मध्य भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वसाधारणले मूर्तिको दर्शन गर्न नपाउने भएका छन् ।

हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने उक्त मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले बालगोपालेश्वरको दर्शन गरी टीका लगाउँदै आएका थिए तर भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्णरूपमा क्षतिग्रस्त भएको र मन्दिर वरपरका पर्खालमा पनि आंशिक क्षति पुगेपछि पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई पुनःनिर्माणको जिम्मा दिइएको थियो ।

गत वैशाख दोस्रो सातादेखि सुरु गरिएको पुनःनिर्माणअन्तर्गत मन्दिरमा पिल्लर राख्ने काम भइरहँदा पुरातत्व विभागले मापदण्ड विपरीत पुनःनिर्माण भएको जनाउँदै भदौ १३ गतेदेखि तत्काल पुनःनिर्माण रोक्न निर्देशन दिएको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माणको काम हुन नसकेकाले सर्वसाधारणका लागि मन्दिरभित्र जाने द्वारमा मन्दिरको फोटो राखेर पूजा गर्ने र टीका लगाउने तयारी भएको छ, गत वर्ष पनि यसरी नै टीका लगाइएको हो ।”

ऐतिहासिक महत्व रहेकोे रानीपोखरी प्रताप मल्लका कान्छा छोरा चक्रव्रतेन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गरिएको भनाइ छ । विसं १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर पोखरी बनाइएको हो । पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उहाँका छोराहरू सहितको सेतो मूर्ति छ ।

पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न केही स्थानमा बिजुली जडान गरी झिलिमिली बनाइने, पोखरी संरक्षणका लागि चारैतिर बार बारिने, बगैँचा बनाइने, हरियाली र रङ्गीन पानीको फोहोरा राखिने महानगरको योजना छ ।

बालगोपालेश्वर मन्दिर पुरातत्व विभागले निर्माण गर्ने भए पनि मन्दिर वरपरको पर्खाल र पोखरी सरसफाइको काम कामपाले नै गर्ने बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...