अक्टोवर ४ ,२०१६ का दिन क्यानडाको तल्लो सदन-हाउस अफ कमन्स् र माथिल्लो सदन सिनेटका सदस्यहरुको सहभागितामा क्यानडा-नेपाल संसदीय मैत्री संघ को गठन भएको छ।
क्यानडाको संसदका उप-सभामुख ब्रुस स्टान टन को अध्यक्षतामा संसदको समिति कक्षमा सम्पन्न बैठकले हाउस अफ कमन्सका सदस्य जेन तांग को अध्यक्षतामा ७ सदस्यीय कार्यकारी समितिको निर्वाचित गरेको छ। अध्यक्षमा निर्वाचित भएपछि संक्षिप्त मन्तव्य दिदैं माननीय ट्याङ्गले अन्य कुराका अतिरिक्त दुई देशबीचको व्यापार र पर्यटन प्रवर्द्वनमा सक्दो योगदान गर्ने बताउनु भयो।
उक्त बैठकमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री जीवन बहादुर शाही पनि उपस्थित हुनुहुन्थ्यो।अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन को ३९ औं महासभामा भाग लिन आउनु भएका माननीय मन्त्री श्री शाहीलाई मैत्री संघको निर्वाचन अगाडिदेखि नै बैठकको संयोजन गरिरहनुभएका ट्याङ्ग तथा क्यानडाका लागि नेपालका राजदूत कालीप्रसाद पोखरेलले निमन्त्रणा गर्नु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै माननीय मन्त्री शाहीले नव गठित कार्यकारी समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभ-कामना दिनुभयो।नेपालमा नयाँ संविधान जारी भएपछि मुलुकले राजनीतिक स्थिरता प्राप्त गरी आर्थिक विकासका लागि मार्ग प्रसस्त गरेको उल्लेख गर्नुभयो।वहाँले क्यानडा-नेपाल मैत्री संघको गठनबाट दुई देशका संसदका सदस्यहरुबीच अन्तर्क्रिया, छलफल र नेटवर्किङ हुन गई पारस्परिक सम्बन्ध विस्तार, संसदीय कार्यानुभव र भ्रमणहरुको आदान-प्रदान र जनस्तरको सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गर्नुभयो। साथै, वहाँले दुई देशबीचको व्यापार, लगानी र पर्यटन प्रवर्द्वनमा समेत संसदीय मैत्री संघको गठनले महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्नु हुँदैं राजदूत कालीप्रसाद पोखरेलले क्यानडा-नेपाल संसदीय मैत्री संघ गठन गर्ने आफ्नो प्रयासमा सहयोग गर्दै कार्यक्रममा उपस्थित हुनुभएकोमा सबै संसद तथा सिनेटका सदस्यहरुलाई धन्यवाद दिनुभयो। वहाँले सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भए देखि सुमधुर रहदैं आएको नेपाल-क्यानडा सम्बन्ध संसदीय मैत्री संघको गठनले अरु फराकिलो हुने विचार व्यक्त गर्दै नेपाल-क्यानडाबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप प्रगाढ बनाउन क्यानडा-नेपाल संसदीय मैत्री संघसँग मिलेर कार्य गर्ने बताउनु भयो। उक्त बैठकमा गैरआवासीय नेपाली संघ-क्यानडा, ओटवास्थित नेपाली समुदायका केही व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
यस अघि क्यानडाको तल्लो सदन हाउस अफ कमन्सका सभामुखले माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री शाहीलाई संसदको विशिष्ट दीर्घामा आमन्त्रण गरी सम्पूर्ण सदस्यहरुबीच वहाँको स्वागत गर्नुभयो।
क्यानडाको संसदमा पहिलो पटक गठन भएको यो संसदीय मैत्री संघ गठन गर्नका लागि राजदूत कालीप्रसाद पोखरेलले विगत एक वर्ष देखि पहल गर्नुभएको थियो। यस क्रममा राजदूत पोखरेलले यहाँको तल्लो र माथिल्लो सदन समेत गरी चार दर्जन भन्दा बढी सांसद तथा सिनेटरहरुसँग भेटघाट गरी मैत्री संघ गठन गर्नका लागि सहयोग गर्न अनुरोध गर्नु भएको थियो।
No comments:
Post a Comment