Friday, November 11, 2016

अमेरिकामा सत्यमोहन जोशीको अभिनन्दन

smj

अमेरिकामा सत्यमोहन जोशी आउँदै हुनुहुन्छ भन्ने खवर पाउने वित्तिकै मलाई असाध्य हर्ष लाग्यो । त्यत्रो वयोवृद्ध साधकले अमेरिकामा पाइला टेक्नु भनेको उहाँलाई भेट्न पाएर अमेरिकाका नेपालीहरु धन्यधन्य हुनु हो भन्ने मेरो सोचाई भयो । अनि मैले तत्कालै उहाँको घरको नम्वर खोजेर फोन गरें काठमाडौं । संयोगवस उहाँ फोनमा भेटिनु भयो र मैले अमेरिका आउन लाग्नु भएको खवर पाएर फोन गरेको र साह्ै्र खुशी लागेको वताएँ ।
तर उहाँले भन्नु भयो, आउने त भनेको हो, भिषा पनि भैसक्यो तर आउने टुँगो अझै भएको छैन ।
उहाँको कुरा सुनेर म आश्चर्यचकित भएँ, आउन तयार भएर भिषा लाग्दा पनि उहाँको आउने टुँगो किन नलागेको हो ? के त्यस्तो कारण प¥यो म जान्न उत्सुक भएँ ।
वास्तवमा अमेरिका आउन सहज छैन । भिषा पाउन सहज छैन । भिषा नपाएर अभि सुवेदी अमेरिका आउन पाउनु भएन । भिषा नपाएर कृष्णचन्द्रसिंह प्रधानलाई अमेरिकामा अभिनन्दन गर्ने कार्यक्रम हुन सकेन । कृष्णप्रसाद पराजुली अमेरिका आउन ३ पटक प्रयास गर्नु प¥यो । साहित्यका यस्ता स्वनामधन्य साधकहरु आउन चाहँदा भिषाको चाँजो मिलेन । तर सत्यमोहन जोशी भिषा पाएर पनि किन आउने टुँगो नभएको हो ?
म लढेर टाउको र खुट्टामा चोट लागेको छ, डाक्टरले जाने अनुमति दियो भने आउँछु नत्र आउन्न होला । सत्यमोहन जोशीले यथार्थ वताउनु भयो ।
सत्यमोहन जोशीलाई अमेरिकामा भेट्न पाइएला भनेर खुशी भएको मन एकाएक साँघुरो भएजस्तो भयो ।
तर पनि आइहाल्नुहुन्छ कि भन्ने आशासहित मैले उहाँलाई भनें, आउनु भो भने तपाईंले मेरा लागि आफ्ना केही पुस्तक ल्याइदिनुहोस्न है चाहीं भनें ।
अन्ततः डाक्टरकोअनुमतिले हुनुपर्छ सत्यामोहन जोशी अमेरिका आइपुग्नुभयो ।
सत्यमोहन जोशीलाई नेपाल भाषा एकेडेमीको चान्सलरको रुपमा अमेरिकामा स्थापित नेवार समुदायको एक संस्था नेवा अर्गनाईजेसन अफ अमेरिकाको निम्तोमा नेपाल सम्वत् अर्थात् न्ह्ुँदया भिन्तुनाको अवसरमा ससम्मान प्रमुख अतिथिका रुपमा वोलाईएको र विशेष सम्मान गर्ने कार्यक्रम तय भएको रहेछ । त्यसो त केही वर्षअघि यसै संस्थाले कवि दुर्गालाल श्रेष्ठलाई पनि सम्मान गरेको थियो डिसी मेट्रो क्षेत्रका विभिन्न संघसंस्थाको सामुहिक सहभागितामा ।
यसपल्ट पनि एनओएले सवै संघसंस्थाहरुको सामुहिक सहभागिता जुराएको थियो ।
एनओएले भव्य कार्यक्रमको आयोजना गरेर न्ह्ुँदया भिन्तुनाको कार्यक्रम सम्पन्न ग¥यो त्यसै अवसरमा सोही समारोहमा सत्यमोहन जोशीलाई सम्मान पनि ग¥यो । विभिन्न संघसंस्थाका तर्फवाट सम्मानपत्र दिने काम पनि भयो । मैले पनि विगत ६ वर्षदेखि सम्पादन प्रकाशन गर्दै आइरहेको नेपाली अखवार विश्वपक्रिमाको तर्फवाट सम्मानपत्र चढाउने अवसर पाएँ ।
सो समारोहमा सत्यमोहन जोशीले मातृभाषामा निकै लामो सम्वोधन गर्नु भयो ।
सत्यमोहन जोशी नेपाली वाङ्मयका धरोहर हुन् । कुनै जाती भाषाको मात्र नभई सिंगो नेपाल राष्ट्रकै सम्पदा हुन् । नेपाल आमाको एक पुत्र रत्न हुन् । अमेरिकामा भएका साहित्यकारहरुको तर्फवाट उहाँको वेग्लै अभिनन्दन कार्यक्रम गरिनु पर्छ, यो हाम्रो लागि सुवर्ण अवसर हो । ९० काटेका यि वयोवृद्ध साधक फेरिफेरि अमेरिका आउन सहज र सम्भव नहोला । त्यसैले उहाँको अभिनन्दनको प्रस्ताव मैले गरें र साथीभाईहरुवाट हार्दिक स्वागत भयो र कार्यक्रमको तयारी शुरु भयो ।

कार्यक्रम गर्ने भनेपछि सवभन्दा पहिला हलको वन्दोवस्त गर्नु प¥यो । हलको खोजी भयो । भर्जिनियाको भियना फेयरफ्याक्सस्थित यौटा पुस्तकालयमा हल पाइयो । वल्लतल्ल । हलको वन्दोवस्त भएपछि निम्तो गर्ने काम थालियो । निम्तोका लागि स्थानिय विद्युतिय सञ्चार सञ्जालले सहयोग गरे । अव खाजाको वन्दोवस्तगर्नु पर्ने भयो । त्यसका लागि स्प्रिंगफिल्डवाट समोसा र मिठाई अर्डर गरियो । प्रमुख अतिथिका रुपमा अमेरिकाका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा आउन मञ्जुर हुनु भयो । मैले आफ्नै अक्किल लगाएर ठूलाठूला अक्षरहरुको प्रिन्टआउटवाट व्यानर तयार पारें । फूलको माला पनि गाँस्ने वन्दोवस्त मिलाइयो । उत्तर अमेरिकी नेपाली साहित्य प्रतिष्ठानका तर्फवाट वसन्त श्रेष्ठ र हेमन्त श्रेष्ठ, अनेसास डिसी मेट्रो च्याप्टरका तर्फवाट प्रकाश नेपाल र विश्वपरिक्रमा पाक्षिकको तर्फवाट म सहित आयोजक भयौं ।
अव अभिनन्दनपत्र प्रमुख काम थियो । यो अभिनन्दनपत्र तयार गर्न र डिजाइन गर्न शाश्वत पराजुलीले सहयोग गर्नुभयो नेपालवाटै ।
अभिनन्दनपत्रको नमूना यसप्रकार तयार भयो

संस्कृतिविद् श्री सत्यमोहन जोशीमा
अमेरिकाबासी नेपालीहरुको तर्फबाट हार्दिक अभिनन्दन

नेपाली सँस्कृतिका धरोहर सत्यमोहन जोशीज्यू,
शारदा पत्रिकामा ‘परिचय’ शीर्षकको कविता प्रकाशित गरेर आप्mनो लेखनको शुरुवात गर्नुहुने तपाईंले नेपाली संस्कृति र साहित्यका क्षेत्रमा गर्नु भएको खोज, अनुसन्धान र प्रकाशनले नेपालको वाङ्मय समृद्ध भएको छ ।
यहाँले ‘सिपाही र रैती, दैलाको बत्ती, फर्केर हेर्दा, मृत्यु एक प्रश्न, क्रान्तिका लहरहरु, गुलाब र गुराँस, पुरातत्व एक रोचक कथा, नेपाली राष्ट्रिय मुद्रा, नेपाली लोक संस्कृति, नेपाली लोक गीत एक अध्ययन, नेपाली धातु मूर्ति विकासक्रम, लामा र पाचुके, बाघभैरव, नेपाली मूर्तिकलाको विकासक्रम, जब घाम लाग्छ, नेपाली चार्डपर्व, कर्णाली लोक संस्कृति’ लगायत थुप्रै मौलिक र दर्जनौँ सम्पादित कृतिहरु नेपाली साहित्यलाई सुम्पनु भएको छ र ती कृति हाम्रा लागि अमूल्य निधि भएका छन् ।
नेपाली जगतका कलमका योद्धा जोशीज्यू,
तपाईंले नेपालभाषामा समेत नाटक, कविता र महाकाव्य एक दर्जनजति कृति सिर्जना गर्नु भएको छ । अध्ययन अनुसन्धानका क्रममा विभिन्न देश–विदेश घुमेर अनुभव र ज्ञानले खारिनुभएको छ । अमूल्य गहकिला सिर्जनाका लागि तीनतीन पटकसम्म मदन पुरस्कार प्राप्त गर्न सफल तपाइ कहिल्यै नथाक्ने दीर्घसाधक हुनुहुन्छ ।
साधना र सिर्जनाका अनुपम उदाहरण जोशीज्यू,
अमूल्य योगदानका लागि थुप्रै गहकिलापुरस्कार र सम्मान प्राप्त गर्नुहुने साधक यहाँको उत्साह ९२ वर्षको आयुमा पनि पटक्कै सेलाएको छैन । हामी यहाँको सुस्वास्थ्य र दीर्घायुको कामना पनि गर्दछौँ ।
अमेरिकामा रहेका हामी नेपालको भाषा साहित्य तथा संस्कृति सम्वद्र्धनमा लागेकाहरुले तपाईंलाई सम्मान गर्न पाउँदा हामी आफैं सम्मानित भएको महशूस गरेका छौं ।
२ जून २०१२, वाशिंटन डिसी , अमेरिका ।

गोविन्द गिरी प्रेरणा, प्रधान सम्पादक, विश्वपरिक्रमा पाक्षिक
प्रकाश नेपाल, अध्यक्ष, अनेसास डिसी मेट्रो च्याप्टर
वसन्त श्रेष्ठ, अध्यक्ष, नेपाली साहित्य प्रतिष्ठा, उत्तर अमेरिका
हेमन्त श्रेष्ठ, महासचिव, नेपाली साहित्य प्रतिष्ठा, उत्तर अमेरिका

कार्यक्रम छोटो छरितो ढँगवाट सम्पन्न भयो । सत्यमोहन जोशीले सारगर्भित भाषण गर्नुभयो । त्यसको ऐतिहासिक महत्व छ । कार्यक्रमको समाप्तिपछि प्रकाशित यो समाचारले त्यस कार्यक्रमको छोटो झल्को दिन्छ ः

अमेरिकामा सत्यमोहन जोशीको अभिनन्दन

२ जून, वाशिंटन डिसी,

नेपाली वाङ्मयका धरोहर संस्कृतिविद सत्यमोहन जोशीलाइ वाशिंटन डिसी मेट्र«ो क्षेत्रका संघसंस्थाहरु नेपाली साहित्य प्रतिष्ठान, अनेसास डिसी मेट्र«ो च्याप्टर तथा पाक्षिक नेपाली अखवार विश्वरिक्रमाले एक कार्यक्रमको आयोजना गरी अभिनन्दन ग¥यो ।
सो अवसरमा जोशीलाई फूलको माला तथा अभिनन्दन पत्र कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले जोशीलाई हस्तान्तरण गर्नु भएको थियो । तत्पश्चात आफ्नो मन्तव्य प्रस्तुत गर्नुहुँदै राजदूत शर्माले यस्ता विलक्षण प्रतिभाको सम्मान गर्ने अवसर प्राप्त भएकोमा प्रशन्नता व्यक्त गर्नु हुँदै आयोजकलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा अभिनन्दित व्यक्तित्व जोशीले आफ्नो साहित्यिक साँस्कृतिक जीवन यात्राको संस्मरण रोचक ढँगले प्रस्तुत गर्नु भएको थियो । साथै उहाँले अमेरिकामा यसरी अभिनन्दित हुन पाएकोमा खुशी प्रकट गर्नुभयो ।
त्यसअघि कवि वसन्त श्रेष्ठले सत्यमोहन जोशीको चिनारी प्रस्तुत गर्नु भएको थियो भने गोविन्द गिरी प्रेरणाले अभिनन्दनपत्र पढेर सुनाउनु भएको थियो ।
साहित्यकार होमनाथ सुवेदीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको शुरुमा प्रकाश नेपालले स्वागत भाषण गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन कवि हेमन्त श्रेष्ठले गर्नुभएको थियो ।
स्मरणीय छ, सत्यमोहन जोशी नेवा अर्गनाइजेसन्स अफ अमेरिकाको ११ औं वार्षिकोत्सवमा विशेष अतिथिको रुपमा अमेरिका आउनु भएको हो । सो वार्षिकोत्सवमा उहाँलाई विशेष सम्मान गरिएको थियो । उहाँलाई डिसी मेट्रो क्षेत्रका विभिन्न संघसंस्थाहरुले फरक फरक समारोहको आयोजना गरी सम्मान गरेका छन् ।

०००
यसरी सत्यमोहन जोशीलाई अमेरिकामा अभिनन्दन गर्ने अवसर पाइयो र त्यस अभिनन्दन समितिको एक सकृय सहभागी हुन पाएकोमा मलाई अत्यन्त गर्व छ ।

१८ फरवरी २०१३
मनासस, भर्जिनिया , अमेरिका ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...