Wednesday, November 2, 2016

रूसमा तिहार, म्हपूजा र छठपर्व सम्पन्न

tihar30102016nachgan

मास्को, ३० अक्टोबर २०१६ (आइतवार) । गैरआवासीय नेपाली संघ रूसको तत्वावधानमा मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा यसपल्ट लक्ष्मीपूजाकै दिन नेपाल सम्बत् ११३७ को पूर्वसन्ध्यामा नेपालीहरूको महान् पर्व दीपावलीका साथै म्हपूजा र छठपर्वसहित नेपालीहरूको महान् चाड तिहार सामूहिक रूपमा मनाइयो ।

tihar30102016m-m-bhurtelg-p-gautam
दीपावलीद्वारा झलमल्ल पारिएको तथा नेपाल र रूसको राष्ट्रिय झण्डाहरूले सिंगारिएको राजदूतावासको सभाकक्षमा रूसमा रहेको नेपाली समुदायका सबै संघसंस्थाबाट उपस्थित प्रतिनिधि महानुभावहरूलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ रूसका महासचिव डा. मनमूर्ति भुर्तेलबाट तिहारको उपलक्ष्यमा आयोजित समारोहको शुभारम्भको घोषणासाथै नेपालको राष्ट्रियधून गुञ्जियो ।

tihar30102016hall
रूसका लागि कार्यवाहक नेपाली राजदूत श्रीमती इन्दिरा गोहीवार अर्यालले नेपालबाट मास्को आइरहनुभएका मित्रकुञ्जका अध्यक्ष नहेन्द्र प्रधानलगायत उपस्थित सबै नेपाली तथा रसियालीहरूको हार्दिक स्वागत गर्दै नेपालीहरूको महान चाडको उपलक्षमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

dsc02289
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिग समन्वय परिषदका महासचिव डा. बद्री के.सी.ले आफ्नो मन्तव्यमा विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपालीहरूले उल्लासमय वातावरणमा मनाउने तिहारको महत्वबारे प्रकाश पार्नुभयो भने गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य एवं विश्व नेपाली साहित्य महासंघ रूस शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतमले नेपालमा बडादशैं मनाएर रूसमा दीपावलीको उत्सव मनाउन आइपुगेको अनुभव बाँड्नुभएको थियो ।

dsc02278
यसै पंक्तिकारले चाहिं दीपावली गरेर मनाइने तिहार, नेपालसम्बत्को शुभारम्भमा मनाइने नेपालको मौलिक संस्र्कतियुक्त म्हपूजा र सूर्यको उपासना गरेर मनइने छठपर्व दीर्घायु, सुखसमृद्धि र सम्पन्नताको प्रकाशमय उत्सव हो भन्दै यमपञ्चकमा काग, कुकुर, गाईको पूजा पनि यमराजको पञ्जाबाट मुक्तिका लागि नै मनाइने सन्दर्भमा दीपावली र देउँसी–भैलोको प्रचलन किरातकालमै नेपालबाट सुरु भएको प्रमाणित गर्ने किरातजातिको किम्बदन्तीको चर्चा गर्दै पुराणका दानवीर वलिराजा र यमराजको छायाबाट बच्न दीपावलीको प्रारम्भ गर्ने बलिहाङ नामका किरात राजा पनि एउटै व्यक्ति हुन सक्ने अनुमान लगाउँदै छठपर्व त जीवनदाता प्रकाशस्रोत सूर्यकै उत्सव भएको उल्लेख गरेको थिएँ र राष्ट्रिय विभूति शंखधर साख्वालले बालुवाबाट सुन प्राप्त गरी नेपालवासीहरूलाई ऋणमुक्त गरेर नेपालसम्वत्को प्रवर्तन गरेभैंm हामीले छोएको माटो पनि सुन बनोस् र लोककल्याण गर्न सकियोस् भन्ने शुभेच्छा दिंदै उपस्थित सबै भाइबहिनीहरूलाई दीर्घायुको कामना गरेको थिएँ ।

dsc02255
रूस (पूर्व सोभियत संघ) का उच्च शिक्षण संस्थानहरूबाट विभिन्न विषयमा दक्ष विशेषज्ञ बनेका स्नातकहरूको संस्था मित्रकुञ्जका अध्यक्ष नहेन्द्र प्रधानले म्हपूजाको मण्डल पृथ्वीको प्रतीक भएको चर्चा गर्दै यो उत्सव पृथ्वी र मान्छेको सहसम्बन्धको द्योतक हो भन्ने धारणा व्यक्त गरेका थिए र आउँदो वर्ष मेई महिनामा मित्रकुञ्ज स्थापनाको स्वर्णजयन्ती मनाउन काठमाडौं आउन नसके मास्कोमै मित्रकुञ्जको स्वर्णजयन्ती मनाउन रूसवासी नेपाली स्नातकहरूलाई आह्वान गर्नुभयो र मित्रकुञ्ज स्थापनाको ६०–यौ वार्षिकोत्सवको लोगोचिन्हअङ्कित तीन थान सुभिनियर नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ रूस र यसै पंक्तिका लेखकलाई पनि प्रदान गरिएको थियो ।
रूस–नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेलले मित्रकुञ्जका संस्थापक नीलाम्बर आचार्यकै सहपाठी कृष्णप्रकाश श्रेष्ठलाई मित्रकुञ्जको स्वर्णजयन्तीको लोगोचिन्ह प्रदान गरिनु युक्तिसङ्गत भएको अभिव्यक्ति दिंदै मास्कोमा मृतुञ्जय श्रेष्ठ, जीवनगोविन्द श्रेष्ठ प्रभृतिले सन् २००४ देखि दीपावलीको सन्दर्भमा म्हपूजासहित नेपाल सम्बत्को नयाँ वर्ष, तिहारचाड, छठपर्व संयुक्त रूपमा मनाउने परम्परा थालनी गरेको सूचित गनुभयो र यस सांस्र्कतिक परम्परालाई निरन्तरता दिइएकोमा हर्षप्रकट गर्दै यो क्रम भविष्यमा पनि जारी रहने आशा प्रकट गर्नुभयो ।
नेपाली छात्रसंघ (जनमैत्री विश्वविद्यालय) का अध्यक्ष मदन श्रेष्ठले उपस्थित सबै दाजुभाइ–दिदीबहिनीहरूप्रति दीपावलीलगायत सबै पावन पर्वहरूको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गरेका थिए ।
यसरी दीपावली समारोहको औपचारिक खण्डको समाप्तिपश्चात् गैरआवासीय नेपाली संघ रूसकी नारी संयोजिका मीना अधिकारी शर्माको नेतृत्वमा नेपाली महिलाहरूले मङ्गल नृत्यगान शुरु गरेपछि विशेष उल्लासमय वातावरणमा देउँसी–भैलोलगायत विभिन्न नाचगान र मनोरञ्जनात्मक कार्यक्रमहरू सम्पन्न गरिएका थिए ।
उपस्थित पाहुनाहरूको सम्मानमा सेलपुरीलगायत विभिन्न नेपाली परिकारहरूसहितको भव्य तिहारभोजको पनि आयोजना गरिएको थियो । त्यहाँको रमाइलो साँझ मध्यरातसम्म नै लम्बिन सक्ने हुनाले म चाहिं बीचमै आयोजकहरूलाई धन्यवाद दिंदै आफ्नो निवासस्थानतिर लागेको थिएँ । यस सालको पहिलो हिमप्रपालले सेताम्य पारेको मास्कोेको सडकमा पाइला चाल्दै म अतीतको सम्झनामा डुब्न पुगेको थिएँ…
सातसालको क्रान्तिअघि म सानै छँदा कालो बर्दीधारी दुईजना खलङ्गाकै सुपरिचित सुजिकारहरूले चाँदतोडा भएको कालो रङ्गको गोलो टोपी ढल्काई एकाबिहानै बैतडी खलङ्गा बजारको पूर्वोत्तर दिशामा रहेको कोतघरबाट भ्mयाली बजाउँदै ठूलो स्वर निकाली ‘श्री ३ सरकारको हुकुमले जुवा फुक्यो’ भन्दै घोषणा गरेर पूरै बजार छिचोल्दै दक्षिण–पश्चिम दिशामा रहेको टुँडिलेखसम्म ओहोर–दोहोर गरेको कौसीबाट देखेको थिएँ । त्यसपछि यमपञ्चकको ५ दिनसम्म बजारमा खुल्लमखुल्ला जुवाको माहोल चल्दथ्यो । कतै तास खेलिन्थ्यो भने कतै कौडा नै हानिन्थ्यो । जुवा जित्नेहरूबाट जिताउरी पनि पाइने हुँदा केटाकेटी नै भए पनि जुवाको खालमा रमिता हेर्न गइन्थ्यो र मौका मिले च्याखे थाप्नेको हुलमा मिसिई च्याखे पनि थापिन्थ्यो । पाँच दिन बितेपछि त्यसै गरी नै भ्mयाली पिटेर जुवा बन्द भएको घोषणा गरिन्थ्यो । नेपालमा प्रजातन्त्रको स्थापनाका साथै जुवा खेल्ने यस्तो कुप्रथा पनि निषेधित भई हटेको हो ।
मास्कोमा दीपावलीको उत्सव मनाउँदा पनि तिहारमा लक्ष्मीपूजाका दिन महिलाहरूले लय हाल्दै ‘हरियो गोबरले लिपेको, लक्ष्मीपूजा गरेको, हे औसीवार, गाई तिहार भैली’ भन्दै गाएको सुमधुर मङ्गलगीत र त्यसको भोलीपल्टदेखि दुई दिन युवकहरूले ‘हामी बलिराजाले पठाउँदा आएका हौं’ आदि भन्दै ‘देउँसुरे’ भट्ट्याएर गाउने गरेको पनि सम्झना हुन्छ ।
स्वदेशबाट टाढा रहेर पनि मास्कोवासी नेपाली समुदायले आफ्ना राष्ट्रिय चाडपर्वहरू मनाउने परम्परा जारी राख्दै आएकोमा आनन्दानुभव हुन्छ । नेपाल सम्बत् ११३७ सुखमय रहोस् ! देशविदेशका सम्पूर्ण नेपालीहरूको जय होस् !

फोटो सौजन्य: गोविन्दप्रसाद गौतम, दिगम्बरप्रसाद भट्ट
मास्को, रूस महासंघ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...