Thursday, November 3, 2016

बज्जिकासेवीको अभिनन्दन तथा सम्मान कार्यक्रम भव्यतापूर्वक सम्पन्न

20161102_140000

रौतहटको गरुडामा वरिष्ठ बज्जिकासेवी धर्मनाथ प्रसाद जयसवालको अभिनन्दन गरिएको छ । गरुडामा आयोजित एक समारोहबीच नेपाल सरकारका पूर्व शिक्षा प्रवक्ता राम प्रवेश यादवले बज्जिकासेवी जयसवाललाई दोसल्ला ओढाएर अभिनन्दनपत्रसहित अभिनन्दन गरेका हुन् ।
तुलसी साहित्य पुरस्कारका संस्थापक तथा बज्जिका भाषाको विकासमा निरन्तर लागेका जयसवाललाई बज्जिका साहित्य संगम रौतहट, बज्जिका भाषा विकास परिषद नेपाल र बज्जिकार्पण साहित्यिक पत्रिकाले संयुक्त रुपमा जयसवाललाई अभिनन्दन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अभिनन्दित जयसवालले संगमको आगामी एक वर्षमा हुने सम्पूर्ण कार्यक्रमको खर्च आफूले बेहोर्ने घोषणा गरेका छन् । यसैगरी तुलसी साहित्य पुरस्कारको अक्षय कोषमा पच्चीस हजार रुपैया थप गर्ने घोषणा गर्ने समेत गरेका छन् ।
कार्यक्रममा दुई बज्जिकासेवीलाई सम्मानित समेत गरिएको छ । बज्जिका भाषाका प्रथम प्रशिक्षक विन्देश्वर प्रसाद साह र बज्जिका भाषाका प्रथम उन्नायक एवं बज्जिका भाषा विकास परिषद नेपालका संस्थापक शिवचन्द्र प्रसाद साहलाई दोसल्लासहित सम्मानपत्रले सम्मानित गरिएको छ ।
सोही कार्यक्रममा तुलसी साहित्य पुरस्कारबाट कवयित्री संगीता सहनीलाई पुरस्कृत गरिएको छ । बज्जिकार्पण साहित्यिक पत्रिकामा २०७१ मा प्रकाशित सम्पूर्ण कवितामध्ये सहनीको कवितालाई नगद पाँच हजार एक रुपैया नगद र सम्मानपत्रले सम्मानित गरिने निर्णयअनुरुप पुरस्कारका संस्थापक धर्मनाथ प्रसाद जयसवालले पुरस्कृत गरेका हुन् ।
कार्यक्रममा बज्जिका भाषाका दुईवटा कृतिको विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि जयसवालले बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष श्याम सहनी चन्द्रांशुको कविताकृति अपन दुनिया र मनोज कुमार साहको गाउँखाने कथा बुझम त जानमको विमोचन गरेका छन् ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यावसायी महासंघका केन्द्रीय सदस्य रामजी प्रसाद साह, बज्जिका भाषा विकास परिषद नेपालका उपाध्यक्ष लालबाबु साह, त्रिविमा बज्जिका भाषामाथि अनुसन्धान गर्ने रमेश साह जिज्ञासु, उपन्यासकार विजय यादव निर्बीज, संगीतकार रामबाबु पटेल, शिक्षक लखिन्दर यादव, समाजसेवी नागेन्द्र प्रसाद चौरसिया लगायतकाले मन्तव्य व्यक्त गर्दै बज्जिका भाषाको विकासको लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।
बज्जिका भाषाका कवि, गीतकार, लेखक, संगीतकार, गायकसहित दर्जनौँको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका अध्यक्ष चन्द्रांशुले गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...