Saturday, January 21, 2017

संविधान संशोधनमा जातीय अधिकार समेट्नुपर्छ : राज्यमन्त्री तामाङ

लमजुङ (बेँसीसहर), ८ माघ । कृषि राज्यमन्त्री राधिका तामाङले संविधान संशोधनमा जातीय तथा सांस्कृतिक अधिकारलाई समेट्नुपर्नेमा जोड दिनुभएको छ ।
सदरमुकाम बेँसीसहरमा आज आयोजित प्रथम ऐतिहासिक तामाङ महोत्सवमा सम्बोधन गर्दै उहाँले अब विभिन्न जातजातिका अधिकारहरु सुनिश्चित हुने गरी संशोधन हुनुपर्नेमा जोड दिनुभयो । केही जनजातिले संविधानप्रति राखेका असन्तुष्टिलाई संशोधन गरेर सबैको साझा संविधान बनाउनुपर्ने उहाँको भनाइ थियो ।

राज्यमन्त्री तामाङले कुनै पनि जात, समुदायले आफ्नो अधिकार प्राप्तिका लागि स्थानीयस्तरमै एकजुट हुनुपर्ने बताउनुभयो । स्थानीय समुदायमै एकता भएन भने अधिकारको लडाइँ सफल नहुने उहाँको दाबी थियो ।

राज्यमन्त्री तामाङले कृषि पेसालाई मर्यादित र व्यावसायिक बनाउन सरकारले विभिन्न कार्यक्रममार्फत अनुदानको व्यवस्था गरेकाले कृषकलाई त्यस विषयमा चासो राख्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सांसदद्वय चन्द्रबहादुर कुँवर र लालबहादुर गुरुङ, नेपाली काँग्रेसका सचिव हरि बराल, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य मधु अधिकारी, राप्रपा सचिव रामबहादुर थापा, नयाँ शक्ति नेपालका गमबहादुर तामाङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...