Saturday, January 21, 2017

दश महिनाभित्र तीन वटै तहको निर्वाचनको मिति घोषणा गर : ओली

भक्तपुर, ८ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अबको १० महिनाभित्र सरकारले तीन वटै तहको निर्वाचनको मिति घोषणा गर्नुुपर्ने बताउनुभएको छ ।

एमाले भक्तपुरले आज यहाँ आयोजना गरेको पार्टीका नयाँ सङ्गठित सदस्यलाई शपथ ग्रहण कार्यक्रममा उहाँले आगामी कात्तिक–मङ्सिरसम्म तीन वटै तहको निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न सरकारसँग आग्रह गर्नुभयो ।
सरकारले तीनवटै तहको निर्वाचन कार्यतालिका मिति तत्काल घोषणा गर्न नसक्ने हो भने सत्तामा बसिरहन नमिल्ने बताउनुभयो । चुनाव गराउन नसके सरकार छाड्नुपर्ने औँल्याउँदै अध्यक्ष ओलीले भन्नुभयो – “आज मेरो प्रधानमन्त्रीसँग कुराकानी हुँदैछ, म उहाँलाई भन्नेछु, सोझो कुरा गर्नुस्, चुनाव गराउने हो कि होइन, चुनाव गराउने होइन भने तत्काल सरकार छाड्नुस् ।”

उहाँले सरकारले एउटा चुनाव पनि गराउने कुनै सुरसार गरेको छैन, हामीले सरकार परिवर्तन सँगसँगै निर्वाचनको कार्यतालिका घोषणा गर्न भन्दै आयौँ, तर अहिलेको सरकार त्यस दिशामा केही नगरी, सिन्को नभाँचीकन गफ मात्रै गरेर बसेको छ ।”

यतिबेला विभिन्न प्रकारका शक्तिले देशलाई गलत बाटामा धकेल्न खोजिरहेको र सत्ता पक्षले देशको राष्ट्रियता, एकता र अखण्डतालाई कमजोर पार्नसंविधान संशोधनको बाजा बजाइरहेको आरोप उहाँले लगाउनुभयो।

कार्यक्रममा एमालेका पोलिब्युरो सदस्य सानु श्रेष्ठ, वैकल्पिक केन्द्रीय सदस्य सोम मिश्र, सांसद केदार सञ्जेल, युवा नेता महेश बस्नेत, राजेन्द्रमान श्रेष्ठ, सरस्वती बाटी, एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलालगायतले सरकार संविधान संशोधनभन्दा पनि निर्वाचनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा एमालेका दुई हजार तीन सय ५० जना नयाँ सङ्गठित सदस्यलाई शपथ ग्रहण गराइएको जानकारी पार्टी उपाध्यक्ष बच्चन देउजाले दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...