पोखरा, २४ पुस । नेपालको ग्रामीण क्षेत्रमा सबैभन्दा लोकप्रिय खेलका रुपमा परिचित भलिबल खेललाई व्यावसायिकता प्रदान गर्ने उद्देश्यकासाथ यहाँ राष्ट्रियस्तरको सिर्जना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना, सिर्जना विकास केन्द्रको संयोजन र क्षेत्रीय भलिबल सङ्घको व्यवस्थापनमा माघको १८ देखि २२ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
लिग कम नक आउटका आधारमा खेलाइने सो प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबका साथै पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घ, न्यू डायमण्ड एकेडेमी, हेल्प नेपाल स्पोर्टस् क्लबका गरी कुल छ टिमको सहभागिता रहने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार रबर म्याट प्रयोग गरी सञ्चालन गरिने प्रतियोगिताका विजयी टिमलाई रु एक लाख ५५ हजार ५५५ र उपविजेता टिमलाई रु ७७ हजार ७७७ नगदसहित पदक, प्रमाणपत्र र ट्रफिको व्यवस्था गरिएको छ ।
कुल १८ लाख ६५ हजार खर्च लाग्ने अनुमान गरिएको सो प्रतियोगिताको टिकट बिक्रीबाट भएको आम्दानीको १० प्रतिशत रकम पोखरा–१७ महतगौँडामा सञ्चालित सिर्जना बालगृहको सहयोगार्थ छुट्याइने सिर्जना विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
No comments:
Post a Comment