Tuesday, January 17, 2017

मतभेदले लोकतन्त्रलाई अझ परिष्कृत गर्छ : मन्त्री कार्की

नेपालगन्ज, ४ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधानले व्यवस्था गरेको समयभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुने बताउनुभएको छ ।

प्रेस सेन्टर बाँकेद्वारा आज नेपालगन्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – “निर्वाचनका लागि सबै दल तयारी अवस्थामा रहेकाले निर्वाचन हँुदैन कि भनेर प्रश्न उठाउनु सान्दर्भिक छैन ।”

संविधान संशोधन प्रस्तावको प्रक्रिया छुट्टै विषय भएकाले यसले निर्वाचनलाई प्रभावित नपार्ने बताउँदै मन्त्री कार्कीले समग्र राजनीतिक विषयलाई सम्बोधन हुने गरी दलहरुसँग छलफल गरेर सरकारले सहमतिको बाटो तय गर्ने स्पष्ट पार्नुभयो ।

सरकारका प्रवक्ता मन्त्री कार्कीको थप भनाइ थियो – “पक्ष र विपक्ष लोकतन्त्रको सुन्दर गहना हो, यदि मतभेद नभए भने मात्र डराउनुपर्छ, मतभेदले लोकतन्त्रलाई अझ परिष्कृत गर्छ र बलियो बनाउँछ ।”

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले संविधान संशोधन प्रस्ताव सहमतिकै आधारमा पारित गरिने हरसम्भव प्रयास गरिने बताउँदै यदि सहमति हुन सकेन भने लोकतान्त्रिक पद्धतिको प्रक्रियाबाट छिनोफानो हुनेछ भन्नुभयो ।

मन्त्री कार्कीले लामो समयदेखि बन्द नेपाल टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्र सञ्चालनका लागि छिट्टै कर्मचारी र आवश्यक उपकरण पठाउन गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

मन्त्री कार्कीले आजै नेपालगन्जस्थित राष्ट्रिय समाचार समिति क्षेत्रीय कार्यालय, नेपाल टेलिकम क्षेत्रीय कार्यालय र जिल्ला हुलाक कार्यालयको निरीक्षण गर्नुभयो ।

मन्त्री कार्कीलाई राससका क्षेत्रीय प्रमुख नीरज गौतम, टेलिकमका क्षत्रीय प्रमुख इन्दल यादव र हुलाक कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठले कार्यालयद्वारा सञ्चालित गतिविधि, भौतिक पूर्वाधारको अवस्था र सेवा प्रवाहका विषयमा जानकारी गराउनुभएको थियो ।

सूचना तथा सञ्चार मन्त्रालय नीति योजना अनुगमन तथा मूल्याङ्कन शाखाको पहलमा मन्त्री कार्कीको नेतृत्वमा भएको सो निरीक्षण टोलीमा मूल्याङ्कन शाखा प्रमुख रुद्रादेवी शर्मा र राससका महाप्रबन्धक निर्मला आचार्यको पनि सहभागिता थियो ।

त्यस अवसरमा मन्त्री कार्कीले सम्बद्ध कार्यालय प्रमुख तथा कर्मचारीलाई निर्देशन दिँदै सेवाको गुणस्तर वृद्धि तथा कार्यालयको भौतिक पूर्वाधार निर्माणमा पर्याप्त ध्यान दिनुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...