Tuesday, January 17, 2017

न्यूयोर्क निवासी मुनाको सहयोगमा काठमाडौंमा स्वरोजगार तालिम

न्यूयोर्क । न्यूयोर्क निवासी एक उद्यमी महिलाको सहयोगमा काठमाडौंस्थित कपनमा ब्युटिसियन तथा सिलाई तालिम सञ्चालन भएको छ । लामो समयदेखि न्यूयोर्कलाई कर्मथलो बनाई ब्युटिसियन व्यवसायमा संलग्न मुना राई गुरुङको ८० हजार रुपैयाँ सहयोगमा बुढानिलकण्ठ नगरपालिकाभित्रका भूकम्प प्रभावित महिलाहरुलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत ब्युटिसियन तथा सिलाई तालिम शुरु गरिएको हो ।

न्यूयोर्क म्यानहाटनस्थित एम नेल्स एण्ड स्किन केयरकी सञ्चालक मुनाको सहयोगमा काठमाडौंस्थित पुराना कांग्रेस नेता तथा ट्रेड युनियन अभियन्ता आत्माराम पौडेलको संयोजनमा गत माघ ३ गते बुढानिलकण्ठ नगरपालिकाअन्तर्गतको कपनमा उक्त प्रशिक्षण शुरु गरिएको हो ।

दुई जना प्रशिक्षकका साथै तालिमलाई आवश्यक सम्पूर्ण सामग्रीसहित गत सोमबार स्थानीय कांग्रेस क्षेत्रीय सभापति राजु श्रेष्ठले तालिम केन्द्रको उद्घाटन गरे । उद्घाटनपछि स्थानीय १० जना महिलाले सिलाई प्रशिक्षण शुरु गरेको प्रशिक्षण केन्द्रका संयोजक आत्माराम पौडेलले बताए । पौडेल भन्छन्– ‘हाल अधिकांश स्थानीय महिलाहरुले सिलाई प्रशिक्षण गर्ने चाहना व्यक्त गरेअनुसार सिलाई तालिम केन्द्र शुरु गरे पनि ब्युटिसियन तालिमसमेत दिलाउने हाम्रो केन्द्रको पूर्वाधार तयार नबनेसम्म हाल ५ जना महिलालाई स्थानीय चपलीमा सञ्चालित सिर्जना ब्युटिपार्लरमा ब्युटिसियन तालिमका लागि शुल्क तिरेर पठाएका छौं । केही महिनाभित्र ब्युटिसियन तालिमसमेत आफ्नै केन्द्रबाट दिलाउने व्यवस्था गर्नेछौं ।’ पौडेलले स्थानीय महिलाहरुलाई सिलाई तथा ब्युटिसियन तालिम उपलब्ध गराएर स्वरोजगार बनाउने हाम्रो योजनाअनुसार न्यूयोर्क निवासी मुना राईको यो सहयोग निकै महत्वपूर्ण भएको बताए ।

सिलाई प्रशिक्षण तालिम ६ महिनाको हुनेछ । न्यूयोर्कमा महिलाहरुको प्रोत्साहनमा विविध प्रकारको सहयोग उपलब्ध गराउँदै आएकी मुना राई गुरुङले नेपालका महिला दिदीबहिनीहरुको सीप विकासमा केही सहयोग गर्न पाएकोमा अति नै खुसी लागेको बताइन् । राई भन्छिन्– ‘सानो सहयोगले नेपालका दिदीबहिनीहरु स्वरोजगार भएर केही आर्जन गर्न सक्छन् भने त्यो मेरो लागि गर्वको कुरा हो ।’ राईले यसअगाडि पनि स्थानीय अधिकारको संयोजकत्वमा न्यूयोर्कस्थित नेपालीभाषी महिलाहरुलाई आफ्नै नेल्स सलुनमा ब्युटिसियन तालिमको व्यवस्थापन गरेकी थिइन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...