Wednesday, January 25, 2017

उपकुलपति नियुक्त नगरिए सेवा ठप्प गर्ने चेतावनी

जुम्ला, १३ माघ । नौ महिनादेखि उपकुलपतिविहीन बनाइएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले उपकुलपति नियुक्त गर्न अझै ढिलाइ गरिए सेवा ठप्प गर्ने चेतावनी दिएको छ ।

प्रतिष्ठानका नर्सिङ डिन गायत्री राईको अध्यक्षतामा यहाँको मेडिकल डाइरेक्टर, चिकित्सक तथा कर्मचारी सहभागी बैठकले सेवा बन्द गर्ने चेतावनी दिएको हो । जुम्लामा बुधबार पत्रकारसम्मेलनको आयोजना गरी एक साताभित्र पदाधिकारी नियुक्त नगरिए प्रतिष्ठान केन्द्रीय कार्यालयको अस्पताल, प्रशासन, प्राज्ञिक, आर्थिक, शैक्षिक तथा दैनिक कार्यालय सञ्चालन ठप्प गर्ने कुरा सार्वजनिक गरिएको छ ।

प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले पत्रकारमाझ सेवा ठप्प गर्ने कुरा सार्वजनिक गरिएको र अपिलमार्फत सहकुलपतिलाई जानकारी गराइएको बताउनुभयो । “गएको असोज १४ लिखित रुपमा कार्यवाहक उपकुलपतिको जिम्मा पाएका डा धर्मराज श्रेष्ठ अधिकांश समय सम्पर्क कार्यालयमा बस्दै आउनुभएको छ, प्रतिष्ठान विषम परिस्थितिमा पुग्दा पनि सरकारले पदाधिकारी नियुक्तिमा ध्यान दिएको छैन, यो प्रतिष्ठानलाई अपहेलना गरिएको छ, यदि यही अवस्थालाई कायम राखिए अस्पतालका सबै सेवा पूर्ण रुपले बन्द गर्छौं,” उहाँले भन्नुभयो ।

प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा पुजन रोकायाले पदाधिकारी रिक्त हुँदा प्रतिष्ठानको सबै क्षेत्रमा अस्तव्यस्त भएको गुनासो गर्नुभयो । नेतृत्व गर्ने पदाधिकारी नभएपछि जनशक्तिको अभाव पनि हुँदै गएको डा रोकायाको भनाइ छ । यता डा सूर्यमान लिम्बूले उपकुलपति मात्र नभई रजिस्ट्रार र अस्पताल निर्देशक समेतका पदाधिकारी नहुँदा लामो समयदेखि कार्य परिषद्को बैठक बस्न नसकेको बताउनुभयो । डा लिम्बूका अनुसार प्रतिष्ठानको परिचालन तथा व्यवस्थापनमा निकै ठूलो समस्या हुँदै गएको छ ।

पदाधिकारीविहीन हुँदा प्रतिष्ठानको तीन सय श्ययाको निर्माणाधीन भवनको कामको भुक्तानी दिन नसकिएको प्रतिष्ठानले जनाएको छ । मुलुकका अन्य प्रतिष्ठानमा पदाधिकारीविहीन हुने बित्तिकै तुरुन्तै सरकारी चासो हुने तर यहाँको प्रतिष्ठानमा नौ महिना पदाधिकारीविहीन हुँदा पनि सरकार उदासीन देखिएकामा कर्णालीवासीले आक्रोश पोख्दै आएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...