Tuesday, January 24, 2017

धार्मिक सहिष्णुताको अनुपम उदारहण : “हिन्दु बुद्ध मन्दिर”

हिन्दु धर्मग्रन्थ “गीता” लाई जिवनको सारका रुपमा हेरिन्छ । जसमा भगवान श्रीकृष्णले महाभारतको युद्धमा अर्जुनलाई केहि उपदेश दिएका थिए । जसका कारण उक्त युद्धमा अर्जुनले सफलता समेत प्राप्त गरेका थिए । ज्ञान गीतामा एउटा कुरा उल्लेख के गरिएको छ भने मानिसले आफ्नो जिवनकालमा न त केहि गुमाँउछ न त उसलाई कुनै कुरा व्यर्थ नै हुन्छ, यो भन्नुको तात्पर्य के हो भने मानिसले गर्ने हर कर्मको फल उसले अवश्य प्राप्त गर्छ । त्यो सुखद होस वा दुखद् होस ।
यता बुद्ध मार्गले पनि यहि कुराहरुमा जोड दिएको छ, हामी मानिस आफ्नो मालिक आफै हौं। आफ्नो जिवनलाई मुल्यवान बनाउनु छ भने आफैले बनाउनुपर्छ, अरु कसैले आएर न त बनाउछ नै, न त अरुले आएर बनाईदिएर नै बन्छ । त्यसकारण हामीले आफैले आफैलाई सुर्धानु जरुरी छ । सधैं सत्कर्म र सत्मार्ग तर्फ अघि बढ्नु जरुरी छ।
चाहे हिन्दु धर्म होस वा बौद्ध, मुस्लिम, ईसाई, शिख लगायत अन्य धर्म हुन, सवैको सार एउटै हो, ज्ञान र अहिंशा कै पदमार्गमा चल्न सिकाउनु । धर्म मानिसका लागि हो र यसले मानिसलाई पर्यावरण संग जोड्दछ । बिश्वका जुनसुकै कुनामा बस्ने मानिस किन नहुन । उनिहरु कुनै न कुनै धर्म मान्छन भने उनिहरुका आ आफ्नै रिती संस्कृति परम्परा र भेषभुषा पनि छन । बढ्दो आधुनिकतासंगै धर्मको महत्त्व पनि बढ्दै जान थालेको छ । मान्छे यति व्यस्त हुन थालेको छ कि उ अरुलाई त परै जाओस आफुलाई पनि बिर्सन थालिसकेको छ । मानिस यान्त्रिकिकरण भईरहेको छ । जसकारण पनि धर्मको महत्व आजभोली बढ्दै जान थालेको हो ।  यता अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गरिरहेका नेपालीहरुले हिन्दु बुद्ध मन्दिर निर्माणको कुराले पनि यस कुरालाई पुष्टि गर्दछ।
पछिल्लो समय बिश्वभरी दिन दुई गुणा र रात चार गुणाका दरले दिन प्रतिदिन ठाँउ ठाँउमा मन्दिर, गुम्बा, मस्जिद, चर्चहरु निर्माण भईरहेका छन । धर्मले एक आपसमा जोड्नुका साथै अनुशासन सिकाउछ भने आत्मज्ञान अनि शान्ति समेत दिन्छ। मन्दिर निर्माणका लागि हरेक पेशा, उमेर समुहका मेरिल्याण्डबासी नेपालीहरु स्वत: स्फुर्त रुपमा आ-आफ्नो ठाँउहरुबाट लागि परेका छन । सनातन धर्म मान्दै आएका नेपालीहरु जहाँ गएपनि उनिहरु आफ्नो धर्म सस्कृति र परम्परालाई निरन्तर मान्दै आएको र जर्गेना गर्न पनि लागि परेको कुरा समेत यो मन्दिर निर्माणको एउटा सुन्दर पक्ष हो । त्यसैमा पनि हिन्दु सं संगै बुद्ध पनि जोडिदा धर्मको सहिष्सुणता लाई यसले नमुनाका साथै उच्च पारिदिएको छ । हुन त नेपाली दाजुभाईहरु हिन्दु र बुद्ध धर्म मात्रै मान्ने नहोलान । कसैको अरु धर्मप्रति आस्था होला । तर पनि यो सामाजिक कार्यमा सवैको एकता हुन जरुरी देखिन्छ । यो मन्दिर निर्माणमा अन्य धर्मका आस्थावान मेरिल्याण्डबासी नेपालीहरुको पनि साथको खाँचो देखिन्छ।
जन्म देखि मृत्युवरण सम्म बिभिन्न कर्महरु गर्नु पर्ने हुन्छ । यसका लागि पनि नेपालीबासीहरुले मन्दिर निर्माणको आवश्यकता महशुष गरेका हुन । हुन त मन्दिर निर्माणको कुरा करिब एक दशक अगाडि देखि नै उठ्दै आएको हो तर पनि पछिल्लो समयमा यसले गति पाएको छ। यदि यो मन्दिर निर्माणको कार्य सम्पन्न भयो भने यसमा पुजाआजा, भजनकृतन, शुभकार्यमा टेवा पुग्ने कुरा त छदै छ । आर्को कुरा पछिल्लो पुस्तालाई आफ्नो भाषा, भेष, रिति-तिथि, धर्म र सस्कृतिका बारेमा जानकारी दिन पनि यो मन्दिर ऐतिहासिक धरोहर बन्ने पनि देखिन्छ। सम्भवत: प्रवासमा रहेका नेपालीहरुले बुद्ध र हिन्दु धर्म लाई एकै ठाउमा मिलाएर मन्दिर निर्माण गर्नुले देशमा समेत धार्मिक सहिष्सुणता र भाईचाराको अमुल्य सन्देश प्रवाह गर्नेछ। यस कारण पनि यो मन्दिर निर्माण हुनु अत्यन्त जरुरी छ।
मन्दिर निर्माणका लागि आधारभुत कार्यहरु सम्पन्न भईसकेको र सहयोग रकम पनि धमाधम संकलन भईरहेपनि कतै यो कुरा पनि कोहि कसैको कारण हात्ति आयो हात्ति आयो फुस्सा भने जस्तै त हुने छैन भन्ने आंशका समेत केही सर्वसाधारणको मनमा उब्जिएको पनि छ। यस अघि पनि सामुदायिक भवन, मन्दिर निर्माण र अन्य सामाजिक कार्यका नाममा थुप्रै रकम संकलन गरिएको तर सहि रुपमा सदुपयोग नभएको कुराहरुले मन्दिर निर्माणको सफलताको कुरामा पनि प्रश्नवाचक चिन्ह अर्थात आंशका उब्जाएको हो ।
मन्दिर निर्माणका लागि अर्थ संकलन भईरहेको यो समयमा कसलाई सहयोग रकम दिने, कहाँ गएर दिने, कसरी दिने भन्ने कुराको अन्यौलता सहयोगी मनहरुमा रहेको छ । यि यस्ता जिज्ञासा र आंशका मेटाउनका लागि स्वयंसेवकहरुले जिम्मेवारी पुर्वक उचित कदम थाल्न सके जनसहभागिता संगसंगै आर्थिक सहयोग पनि बढ्ने कुरामा कसैको दुइमत नरहला।
सवैले धर्ममा आस्था राख्छन र धर्मले आफु संगसंगै अरुलाई पनि बाच्न दिनुपर्छ भन्ने सिकाउछ । जब सवैजना एक आपसमा मिलेर अगाडि बढ्दछन तव धर्म समेत पालना हुन्छ भने मान्छे सामाजिक भएर आफु पनि बाँच्छ र अरुलाई पनि बाँच्न प्रेरित गर्दछ। मानिसले आफु मात्रै सफल भएर केहि हुँदैन, सफलताका साथसाथै असल हुन पनि जरुरी छ । असल हुनका लागि अरुलाई पनि सफल बनाउने प्रयत्न, हिम्मत र आँट चाहिन्छ । यो कुराको ज्ञान पनि धर्मले नै दिने गर्दछ । धर्मले एकता सिकाउछ तर कहि कतै धर्मका नाममा हिँसा समेत भड्किरहेको वर्तमान अवस्थामा हिन्दु बुद्ध मन्दिर निर्माणको कार्य धार्मिक सहिष्णुता र भाईचारको अनुपम उदारहण हो। यो पवित्र कार्यमा मेरिल्याण्डबासीका सम्पुर्ण आम नेपालीहरुले तन मन अनि धन अर्थात आर्थिक, भौतिक, शाररिक होस वा मानसिक जुनसुकै रुपमा भएपनि सहभागी भई मन्दिर निर्माणको कार्य सफल पार्न जरुरी देखिन्छ।
मन्दिर निर्माणमा सहभागी सम्पुर्ण स्वयंसेवक तथा सहयोगीहरु सफलताको लागि शुभकामना !!!

 मेरिल्याण्डका हामी नेपाली, 2017

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...