Sunday, February 26, 2017

हाम्रा वैभवशाली संस्कृति र नागा बाबा छोटो विबेचना।

हरेक प्रचलन, संस्कार अनि संस्कृतिका आ आफ्नै गौरवपूर्ण ईतिहाँस हुन्छन्। हुन्छन् आफ्नै विशिष्ट सिद्धान्त, पद्धति र मान्यताहरू। खासगरिकन हाम्रो पूर्वीय सामाजिक आध्यात्मिक क्षेत्रका रथका दुई पाड़्ग्रा छन् , श्रमण पद्धति र ब्राह्मण पद्धति ( प्रकृति, आत्मा र परमात्माको संयुक्त स्वरूपलाई ब्रह्म मानिन्छ भने, जसले ब्रह्मलाई जान्दछ उ ब्राह्मण हुन्छ । ब्रह्मवादी पद्धति या ब्रह्म प्रति समर्पित हुनु ब्राह्मण पद्धति भयो)। ब्यक्ति आफैले श्रम गरेर आफ्नो मुक्तिको मार्ग आफै पहिल्याउनु या पहिल्याउन प्रयास गर्नुनै श्रमण पद्धति मानिन्छ । भगवान महावीर र बुद्धको मार्गनै श्रमण पद्धति हुन। भगवान बुद्ध र महावीर भन्दा अगाडी पनि श्रमण पद्धति थियो। स्मरण रहोस भगवान महावीर २४ औं तीर्थंकर हुन। उनिभन्दा अगाडी २३ तीर्थंकरहरू थिए। पूर्वीय आध्यात्मिक जगतको विशिष्टताको बारेमा त सबैलाई थाहैछ । सिड़्गो विश्व जगत सम्मानले नमन गर्छ। सम्राट अशोकको स्वर्गवास संगसंगै जति दशक र सताब्दीहरू बित्दै गए त्यतिनै आन्तरिक कलह र बाह्य आक्रमणका कारण पूर्वीय सनातन धर्म संस्कृतिमा संकट श्रृजना हुनथाल्यो। आठौं सताब्दीसम्म आईपुगुञ्जेल सनातन धर्म संस्कृतिहरू उपर निकै ठूलो संकट आईसकेको थियो। थुप्रै मठ मन्दिर तथा धार्मिक स्थलहरू ध्वस्त भईसकेका थिए। श्रद्धालु तथा धार्मिक स्थलहरूको लूटपाट सामान्य भईसकेको थियो।आक्रमणकारीहरूबाट सनातन धर्म संस्कृतिलाई बचाउन आदि शंकराचार्य ज्यू ले चार पीठको स्थापना गर्नुभयो। थुप्रै मठ अखडाहरूका निर्माण गराउनु भयो।

सनातन धर्म परम्परा अन्तर्गत सन्यास, अखडा,अघोरी पद्धतिहरूलाई शैव परम्परा अन्तर्गत लिईन्छ। मूलत: शैव सम्प्रदायका दुई मुख्य भाग नाथ सम्प्रदाय र दश नामी सम्प्रदाय हुन। योग दर्शनलाई पनि शैव परम्परा या शिवकै श्रृजनाको रूपमा लिईन्छ। योगका जन्मदाता आदियोगी भगवान शिवलाईनै मानिन्छ। हजारौं हजार बर्ष पहिले हिमालय खण्डमा भगवान शिवले आफ्ना सप्त ऋषि शिष्यहरूलाई सिकाएर उनिहरू मार्फतनै मानव कल्याणका निम्ती ल्याईएको मान्यता छ। त्यसैले त “जीवलाई शिव ” बनाउने पद्धतिको नाम नै योग हो भनिन्छ। योगका दुई मुख्य धारा हठयोग र राजयोग/ अष्टाड़्ग योग मानिन्छ । पछिल्लो समयमा आएर हठयोगका शिखर पुरूष बाबा मच्छीन्द्रनाथ र गोरखनाथ लाई मानिन्छ । राजयोग/ अष्टाड़्ग योगका शिखर पुरूष महर्षि पतञ्जलीलाई मानिन्छ।यिनै परम्परागत जगमा धर्म संस्कृति रक्षार्थ आदि शंकराचार्य ज्यू ले योगी सन्यासीहरूलाई आध्यात्मिक, धार्मिक, सांस्कृतिक, नैतिक, शारिरिक एवं शस्त्रास्त्र आदिका तालीम दिएर धार्मिक स्थल र श्रद्धालुहरूको रक्षार्थ लाग्न आव्हान गर्नु भयो।यही कारण पछिल्लो समयमा मठ,अखडा अनि धार्मिक स्थलमा खुम्चन बाध्य सनातन धर्म परम्पराले सुरक्षा र पून: फैलने अवशर पाए। यही सन्यास हठयोगी नाथ सम्प्रदाय मान्यताकै शीर्ष त्यागको प्रतिकको रूपमा नागा बाबाहरूको अखडा अस्तित्वमा आयो र सनातन धर्म संस्कृतिलाई बचाउन निकै ठूलो योगदान गरेको वास्तविकता ईतिहाँसमा सुनौला अक्षरले लेखिएका छन्।अहिले पनि थुप्रै अखडा अनि मठहरू अस्तित्वमा छन्। हामी सामान्य मानव जन्मन्छौ अनि मर्छौं। तर वास्तवमा त्यो जन्म मृत्यु दुबै हाम्रो हुदैन । अरूकै माध्यमबाट जन्म र अरूकै माध्यमबाट मृत्यु हुन्छ । जब मान्छे साधनाको द्वार स्वयं खोल्न सफल हुन्छ र प्राप्त गर्छ कैवल्यको अवस्था, आज्ञाचक्र खोल्दै सहस्र चक्र जागृत गर्न सक्षम हुन्छ, प्राप्त गर्छ बुद्धत्व । अनि प्राप्त गर्छ नयाँ जन्म, सफल हुन्छ आफ्नो जन्मको माध्यम आफै बन्न। तत्पश्चातको जीवनको अवस्थालाईनै बिहार भनिन्छ। भगवान बुद्धले बुद्धत्व प्राप्त गरे पश्चात महापरीनिर्माण प्राप्त नगरूञ्जेलको समय बिताएको स्थानलाईनै बिहार भनिएको हो। यिनै सिद्धान्त अन्तर्गत सांसारिक मायाँ,मोह,लोभ, लालच सबै त्याग्दै उच्च विधि विधान अनुरूप लामो साधना र त्याग गर्दै पुनर्जन्म/ नयाँ जीवन प्राप्त गर्ने प्रकृया र पद्धतिको महान प्रचलन, प्रकृया र परम्पराको नामनै नांगा बाबा/ साधु हो।

यो विधिको लामो र कठोर तपस्याको अन्त्यमा साधकको विधि पूर्वक कामेन्द्रीय भड़्ग (लीड़्ग भड़्ग) गरिन्छ । तत्पश्चात साधकमा कहिल्यै काम वासन जागृत हुनै सक्दैन यदि वास्तविक नागा साधु/ बाबा हो भने। नागा बाबाले आफ्नो पिण्ड आफै दान गरेर आफ्नो अन्तिम कर्मकाण्ड सम्पन्न गर्नु पर्छ र तत्पश्चातको जीवन नितान्त अखडाको कडा अनुशासनमा रहेर सनातन धर्म संस्कृतिको रक्षार्थ समर्पण गर्नु पर्छ।यहीनै उनिहरूको जीवन हो र हो अन्तिम लक्ष पनि। अहिंसा, सत्य,अपरिग्रह, अचौर्य र ब्रह्मचर्य जस्ता सिद्धान्तलाई आधार मान्दै सम्पूर्ण भौतिक सुख सुविधा त्याग्दै अन्तमा शरीरका बस्त्रसम्म त्याग्दै राजकुमार वर्द्धमान कैवल्य प्राप्त गर्दै तीर्थंकर महावीर बने। सुख सुविधामा हुर्कीएका राजकुमार वर्द्धमान जब सबै सुख सुविधा त्यागेर सत्यको खोजिमा लागिपरे। उक्त सत्यको खोजको यात्राको कठोर साधनाको क्रममा शरीरका बस्त्रहरू शरीरबाट अलग भएको थाहै भएन रे। भगवान श्री कृष्णले गीतामा बस्त्र रूपी शरीर यानि शरीर बस्त्र झैं हो । जब एउटा बस्त्र फाट्छ अनि अर्को बस्त्र फेर्छौं, त्यसरीनै आत्माले शरीर फेर्छ भनेर शरीरलाई बस्त्रको रूपमा ब्याख्या गर्नुभए झैं भगवान महावीरको शरीरनै बस्त्र बन्यो। उनको चरम त्याग, कठोर तपस्या र परम ज्ञानको कारण उनको नाड़्गो शरीर लाज र घृणाको प्रतिक होईन, आस्था र सम्मानको प्रतिबिम्ब बन्यो।त्यो नाड़्गो शरीरले विकृति र ब्यभिचार होईन, मर्यादा र अनुशासनलाई बढावा दियो। आज भन्दा अधिक पुरातन समाजमा नाड़्गो तीर्थंकर महावीरका हजारौं हजार शिष्य थिए। उनका शिष्यमा बढी महिलाहरू थिए। अहिले पनि कुनै कुनै जैन धर्म गुरूहरू निर्वस्त्र रहन्छन्।आखिर धर्म सिद्धान्त मात्र होईन जीवनशैली पनि हो। त्यसैले हाम्रो सनातन धर्म संस्कृति परम्पराले एक निश्चित परिधि या दायरामा मात्र सिमित नगराएर विविध विकल्पको रूपमा पन्थ सम्प्रदायको ब्यबस्था गरेको पाईन्छ। एक थरी पन्थ सम्प्रदाय गलत भन्छन् भने, अर्का थरी आफु अनुकूल आस्था र ब्यबस्थालाई जीवनशैलीमा उतार्ने अवशर मान्छन्।जे होस सच्चा र पवित्र भावले जन र जगत कल्याणका निम्ती गरेका हरेक कर्म आदरणीय हुन्छन्।
नागा बाबा/ साधुहरू भगवान शिवका अनुयायी भएका कारण आरध्य देव श्री पशुपतिनाथको दर्शन गर्नु उनिहरूको पावन कर्तव्य र परम लक्ष्य हुन्छ । यसैकारण पवित्र पर्व महाशिवरात्रिमा हामीहरूले प्रशस्त नागा बाबा/ साधु हरू देख्न पाउछौं। हरेक समाज संधै समयको गतिशील प्रकृया संगसंगै विकृत पनि भएका हुन्छन्, हरेक वैभवशाली परम्परामा। हो नागा बाबा परम्परामा पनि विकृत छाएका होलान र हुनसक्छन् गलत नक्कली ढोंगी बाबाहरूले ब्यभिचार पनि गरेका होलान। तर यसका मूल्य, मान्यता, विधि, विधान आदि अत्यन्त उच्चकोटीका छन्। मानवीय आध्यात्मिक प्रयोगको क्षेत्रमा अकल्पनीय र अतुलनीय छ। यस बिषयमा वास्तविक कुरा जनमानसमा ल्याउन नसक्नु पनि यस क्षेत्रका जिम्मेवार र शुभेच्छुक हामी सबैको कमजोरी हो। तसर्थ हामी सबैले खोज अनुसन्धान अध्ययन गरौं। यस क्षेत्रमा भएका गलत विकृतिहरूलाई हटाऔं। सबै मिलेर वैभवशाली संस्कार, संस्कृति र विधाको संरक्षण गरौं।सभ्यता समाजको गर्भबाट जन्मने हो।नागा बाबा/साधु परम्परा पनि तत्कालीन समयको आवश्यकताले कठीन प्रसव पिडा सहंदै हजारौं हजार बर्षका आफ्ना वैभवशाली संस्कार संस्कृतिलाई जोगाउन आफ्ना हजारौं सपूतहरूलाई बली चढाउदै समाजले आफ्नो गर्भबाट जन्माएको हो। त्याग र बलिदानीको उच्चतम कर्मलाई निरन्तरता दिने परम्परालाई भावनामा बहेर वास्तविकतालाई नजरअंदाज गर्दै बिरोध नगरौं। बरू समयानुकूल ब्यबस्थापन, संरक्षण र सम्वर्द्धन गरौं। टाढा जानु पर्दैन सद्गुरु श्री गुरू गोविन्द सिं ज्यू ले मानवताको रक्षार्थ शुरू गर्नु भएको सिख परम्परा सिख ( पञ्जाबी) हरूले आधुनिकताको नाममा,फेसनको नाममा,असजिलोको नाममा, असुहाउदोको नाममा छाडेका छैनन्। बरू यसको वास्तविक ईतिहाँसलाई सबैको अगाडी प्रष्ट्याउदै संसारभर फैलाएका छन् र प्राप्त गरेका छन् सबैको सम्मान। हामीले नागा बाबा/ साधु हरूको उच्चतम बलिदानी र त्यागका ऐतिहासिक तथ्यहरू हेर्यौ र अध्ययन गर्यौं भने सीखहरूको त्याग र बलिदानी भन्दा कत्ति पनि कमी छैन। बरू संसारले सलाम गर्ने छ , आफ्नो संस्कार, संस्कृति अनि परम्पराको रक्षार्थ मानिस यो हदसम्मको त्याग र बलिदानी गर्न सक्दो रहेछ भनेर।
ॐ शान्ति:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...