प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा टेबुल भइसकेको संविधान संशोधन विधेयक पारित गर्न आफूहरुले कोशिस गरिरहेको बताएका छन् । रौतहटको सोनरनिया, करुनिया र सखुअवा लगायतको ठाउँमा आयोजित फरक किसिमका चार कार्यक्रमहरुलाई सम्बोधन गर्ने गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सबैलाई सर्वस्वीकार्य बनाउने गरी संसदमा पेश भइसकेको संविधान संशोधनको विधेयकलाई पास गराउन सरकार लागि रहेको बताएका छन् ।
संविधान संशोधन र निर्वाचनका तयारी दुवै चलिरहेको संकेत समेत प्रधानमन्त्री प्रचण्डले गरेका छन् । आगामी माघ ७ भित्र देशमा तिनै तहको निर्वाचन गराइसक्नुपर्ने बाध्यतात्मक संवैधानिक व्यवस्था रहेकोले निर्वाचनको तयारीमा पनि सरकार लागेको बताएका छन् । तर निर्वाचन कहिलेसम्म हुने भन्ने विषयमा प्रधानमन्त्रीले केही पनि बताएका छैनन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का साँसद प्रभु साहको संयोजकत्वमा २१ महिनादेखि चलिरहेको सडक बचाऔँ अभियानमा आफू सहभागी भएको समेत बताएका छन् । सडक बचाऔँ अभियानले विकासमा गति ल्याउने भएकोले निकै महत्वपूर्ण कार्यक्रम भएको प्रधानमन्त्री प्रचण्डले प्रशंसा गरेका छन् । रौतहटको सोनरनियामा सडक बचाऔँ कार्यक्रमको विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मधेस, पहाड र हिमाललाई जोड्ने अभियानलाई र पूँजीगत खर्चलाई परिचालन गरी देशमा विकासको गतिलाई अगाडि बढाउन आफ्नो सरकारले जोड दिएको बताएका छन् ।
रौतहट क्षेत्र नम्बर ३ का साँसद तथा व्यवस्थापिका संसदमा अन्तर्राष्टिय सम्बन्ध तथा श्रम समितिका सभापतिसमेत रहेका प्रभु साहको अध्यक्षतामा भएको कार्यक्रममा सर्लाहीका ३१ जनाले प्रधानमन्त्रीबाट टीका र माला लगाई पार्टीमा प्रवेश गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले १४ बुँदे प्रतिबद्धता जाहेर गरेका छन् । तराईको बीचबाट रेलमार्गको सम्भाव्यताको लागि भारतसित गम्भीरतापूर्वक छलफल गरिरहेको, गौर र बीरगंजको वीचमा एउटा भन्सार कार्यालयको स्थापनाको लागि पहल गर्ने, सडक, सिँचाइ तथा अन्य विकास निर्माणको कामलाई प्राथमिकता दिने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले रौतहट क्षेत्र नम्बर ३ को सबै विद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत करिब एक हजार पाँच सय छात्राका लागि साँसद प्रभु साहले उपलब्ध गराएको साइकल वितरण कार्यक्रमको समेत शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मावि कटहरिया र मावि कटहरियामा अध्ययनरत पाँचजना छात्रालाई आफैँले साइकल प्रदान गरेका छन् । साइकल प्राप्त गरेपछि छात्रा शिक्षामा सुधार हुने र छात्राले राम्रो अंक ल्याउने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।
रौतहटको जिंगडबा बेलबिछवा गाविसको करुनियामा आयोजित नेपाल–भारत मुशायरा कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले मुस्लिम समुदायको सम्मान लोकतन्त्रमा बढेको बताएका छन् । मुशायरा कार्यक्रमले नेपाल र भारतबीच कूटनैतिक किसिमले सम्बन्ध स्थापना गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सबै जातजाति, भाषाभाषीबीच नयाँ किसिमको एकता बनाउने दिशामा कार्यक्रम सहयोगी हुने बताएका छन् ।
आफ्नो पार्टी उत्पीडितहरुको पक्षमा सधैँ आवाज उठाइरहने पार्टी भएको र लोकतन्त्रको स्थापनापछि मुस्लिम समुदायलाई हेर्ने नजरिया नै परिवर्तन भएको समेत प्रधानमन्त्री प्रचण्डले बताए ।
यसै गरी रौतहटको सखुअवामा जिल्लाका कार्यालय प्रमुखहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मधेस, पहाड र हिमाललाई जोडेर देशको एकतालाई बढाउँदै संविधानलाई सर्वस्वीकार्य बनाउने दिशामा कार्य गर्न निर्देशन दिएका छन् । जनताको पक्षमा इमानदारीपूर्वक कार्य गर्दै निर्वाचनको वातावरण बनाउने दिशामा भूमिका खेल्नसमेत कर्मचारीहरुलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् ।
सखुअवामै आयोजित अर्को कार्यक्रममा नेकपा माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्डले स्थानीय तह, प्रादेशिक र केन्द्रीय निर्वाचनमा पार्टीलाई एक नम्बर स्थानमा ल्याउन विशेष निर्देशन दिएका छन् । रौतहट वामपन्थी आन्दोलनमा अग्रणी जिल्लाको रुपमा रहेकोले आगामी दिनमा पनि पहिचान बनाइरहने विश्वास समेत प्रधानमन्त्री प्रचण्डले प्रकट गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई नागरिक समाजले गौर राइस मिलको फिल्डलाई सरकारी गर्न, अस्थायी शिक्षक संघर्ष समिति रौतहटले प्रक्रिया पु¥याई अस्थायी शिक्षकलाई स्थायी गर्न, रौतहट उद्योग वाणिज्य संघले जिल्लामा सेज कार्यक्रम लागू गर्न लगायत विभिन्न संघ संस्थाहरुले ज्ञापनपत्र बुझाएका छन् ।
Saturday, February 11, 2017
संविधान संशोधनको विधेयकलाई पारित गर्ने हाम्रो कोशिस छ : प्रधानमन्त्री प्रचण्ड
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment