नेकपा एमालेका केन्द्रीय सदस्य राधाकृष्ण मैनालीको पुस्तक ‘नलेखिएको इतिहास’ ले यतिबेला नयाँ तरंग ल्याएको छ । यतिसम्म कि उनको पुस्तक एमालेको पोलिटव्युरो बैठकमा छलफलकै विषय बन्यो । जिउँदै छँदा नै उनले आफूलाई लागेको कुरा व्यक्त गर्ने साहस गरेको भन्दै प्रशंसा भइरहकेको छ, अर्कोतिर पार्टीभित्र केही नेताहरुले उत्तिकै आलोचना पनि गरिरहेका छन् । खासगरि एमाले नेता माधवकुमार नेपालले मैनालीको पुस्तकको विषयलाई लिएर कारबाहीको माग समेत गरे । पार्टीले मैनालीले उठाएका कतिपय विषयको खण्डन समेत गरिहेको छ । यस विषयमा मैनालीले दैनिक नेपालका केही जिज्ञासा मेट्ने कोसिस गरेका छन्ः
तपाईंले हुँदै नभएको कुरा लेखेको भनेर पार्टीले कार्वाही गर्ने भनेको छ, हो ?
खै मलाई थाहा छैन । मलाई अहिलेसम्म कुनै आधिकारिक जानकारी पनि आएको छैन । म केही दिन स्वास्थ्यमा आएको खराबीका कारण घरमै थिएँ । कार्वाही गर्ने कुरा पनि विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएको छु ।
तपाईंले त आफ्नो पुस्तकमा द्वष र कुण्ठा बोकेको आरोप छ नि ?
मैले हुँदै नभएको कुरा लेखेको छैन । जति पनि नेताहरुका बारेमा लेखेको छु, राम्रा र नराम्रा दुबै लेखेको छु । नराम्रा मात्रैलाई हेरेर पनि भएन नि । नेताहरुले गरेका राम्रा कामको बारेमा पनि लेखेको छु ।
मैले हुँदै नभएको कुरा लेखेको भए उहाँ (माधव नेपाल) ले सार्वजनिक रुपमै खण्डन गर्नुप¥यो । तैले हुँदै नभएको कुरा लेखी भनेर मलाई पनि भन्नुपर्यो । मैले जति लेखेको छु । मैले देखे भोगेको यथार्थलाई उतारेको छु ।
नेताहरुप्रति पूर्वाग्रही र पार्टीलाई बदनाम गराउने काम गर्नुभएको भन्ने आरोप छ
म कसैप्रति पूर्वाग्राही भएको छैन । न पार्टीप्रति भएको छु । जे मैले आफ्नो जीवनमा आधारित पुस्तक लेखेको छु, सत्य लेखेको छु । भएका कुराहरुलाई दस्तावेजका रुपमा उतार्ने प्रयास गरेको छु । कसैप्रति आग्रह पूर्वाग्रह राखेर के काम ?
तपाईंले पुस्तक निकाल्ने यो सही समय थियो ?
पुस्तक निकाल्ने विशेष दिन हुँदैन । जतिखेर पनि निकाल्न सकिन्छ । लेखिसकेपछि बजारमा ल्याउने नै हो । मैले पनि किताव लेखेर भर्खरै सकेँ, अनि बजारमा ल्याएको हुँ । यसमा सही समय हो कि होइन भन्ने कुनै कुरै आउँदैन ।
तपाईंलाई पार्टीले कार्बाहीनै गरिहाल्यो भने के गर्नुहुन्छ ?
मलाई पार्टीले पहिले २०५८ सालमा पनि कार्बाही गरेकै थियो । अहिले के गर्छ मलाई थाहा छैन । कार्बाहीनै गरिहाले के हुन्छ, अहिले भन्ने अबस्था छैन् ।
प्रस्तुतिः अंकुश कुँवर / दैनिक नेपाल
यो पनि पढ्नुस्ः
No comments:
Post a Comment