बज्जिका पत्रकार संघ नेपालको प्रथम सम्मेलन रौतहटको गरुडामा सम्पन्न भएको छ । सम्मेलनको उदघाटन गर्दै बज्जिका भाषाका वरिष्ठ भारतीय साहित्यकार तथा पत्रकार डा. ब्रजनन्दन वर्माले बज्जिका भाषाको मानकीकरण र एकीकरणको आवश्यकता रहेको बताएका छन् । नेपालका बज्जिका भाषाका पत्रकारहरुको एउटा साझा मञ्च देखेर आफूलाई निकै खुसी लागेको बताउँदै विश्वमा बज्जिका भाषाप्रति चासो बढिरहेको बताएका छन् । भारतमा सन् १९६४ देखि बज्जिका भाषामा पत्रकारिताको आरम्भ भएको भए पनि पत्रकारहरु संगठित हुन नसकेको अवस्थामा नेपालका बज्जिका पत्रकारहरु संगठित भई सम्मेलन गर्न सफल भएकोमा निकै खुसी लागेको बताएका छन् ।
बज्जिका पत्रकार संघ नेपाल स्थापना गर्न गत वर्षको फागुन १५ गते भेला बोलाएका कार्यक्रम संयोजक बृजकिशोर यादवको अध्यक्षतामा भएको सम्मेलनमा बज्जिका भाषाको पत्रकारिता र साहित्यको क्षेत्रमा योगदान दिने दर्जनाँैलाई सम्मानित समेत गरिएको छ । कार्यक्रममा डा. वर्माले बज्जिका भाषा विकास परिषद नेपालका संस्थापक अध्यक्ष शिवचन्द्र साह, बज्जिका भाषा प्रचार प्रसार संयोजक योगेन्द्रप्रसाद यादव, बज्जिकार्पण साहित्यिक पत्रिकाका सञ्जय साह “मित्र”, बज्जिका साहित्य संगमका अध्यक्ष श्याम सहनी “चन्द्रांशु”, नेपाल बज्जिका भाषा शिक्षक प्रतिष्ठानका अध्यक्ष सफिन्द्रप्रसाद यादव, राजदेवी एफएम गौरका शम्भु साह, रौतहट एफएमका रेवन्त झा, गुजरामाई एफएम बंकुलका त्रिभुवन साह, संगम एफएम कोल्हबीका सरोज गुप्ता, रेडियो मधेस मसला एफएमका जयनाथ यादव, बृजकिशोर यादव, मधेस जनआवाज एफएमका प्रहलाद साह, सिम्रौनगढ एफएमका राजनारायण पटेल, तुलसी साहित्य पुरस्कारका संस्थापक धर्मनाथप्रसाद जयसवाल, एसएस लोकसाहित्य पुरस्कारका संस्थापक लालबाबु साह, पत्रकार मदन ठाकुर, बज्जिका गायकत्रय सञ्जय “राज”, नथुनी “बसेरा” र विजय यादव “निर्बीज”, नेपाल सुनचाँदी व्यावसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामजी साह सोनार, कामेश्वर सहनी, बज्जिका खबर ब्लग स्पट डट कमका मनोजकुमार चौधरी, बज्जिकावाणी डट कमका दिनेश संगम, शीतलपुर साप्ताहिकका जयप्रकाश यादव, रेडियो मुक्तेश्वर बरहथवा सर्लाहीका कृष्णकुमार इस्माली लगायतकालाई सम्मानपत्रले सम्मानित गरिएको छ । यसैगरी विभिन्न रेडियोमा बज्जिका भाषामा समाचार वाचन गर्ने दर्जनभन्दा बढी वाचकलाई समेत प्रशंसापत्रले सम्मानित गरिएको छ ।
कार्यक्रममा बज्जिका भाषामा नेपालमा गाइएको पहिलो गीति एल्बम “बज्जिका समाज”को लोकार्पण गरिएको छ । गायकद्वय राज तथा बसेराको संयुक्त लेखन तथा स्वरमा रहेको अश्लीलतामुक्त प्रथम बज्जिका एलबमको लोकार्पणपछि बोल्दै गायक राजले अग्रजहरुको प्रेरणाले आफूहरुको यात्रा अविराम रहने बताएका छन् ।
विभिन्न वक्ताहरुले मन्तव्य व्यक्त गर्दै बज्जिका भाषा, साहित्य, पत्रकारिता र कलाकारिताले नेपालमा सन्तोषजनक किसिमले विकास गरिरहेको बताएका छन् । मातृभाषाको सेवामा आफूहरुले नैतिक, भौतिक तथा आर्थिक सबै दृष्टिले सहयोगका लागि तयार रहेको पनि वक्ताहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
No comments:
Post a Comment