Sunday, March 5, 2017

नेपालमा कहाँ छ अहिले प्रजातन्त्र ?


नेपालमा कहाँ छ प्रजातन्त्र ? अहिले राष्ट्र खतरामा छ,नेपालमा कांग्रेस, एमाले, माओवादी तन्त्र छ । २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधानमा धर्मनिरपेक्ष, गणतन्त्र घोषणा गरेर देशलाई बरबादीको बाटोमा पु¥याएका छन् । यी तीन पार्टीका नेताहरु बाहेक कोही नेपाली संतुष्ट छैनन् । संविधानमा यिनीहरुले समानुपातिक व्यवस्था कायम गरेर संसदमा गन्हाएका भ्रष्ट, ब्यापारी, नातेदार, अराजनीतिक तथा पार्टीका कारिन्दाहरु छानीछानी समानुपातिक कोटाबाट सदस्य बनाउने परिपाटी कायम गरेकाले यो संविधानबाट प्रजातन्त्र माथि कालो बादल यथावत छ । बास्तवमा नेपाललाई चारवटा रोगले आक्रान्त बनाएको छ । १) क्यान्सर, २) करप्सन, ३) क्रिस्चियन र ४) २०६२ सालमा दिल्लीमा १२ बुँदे सहमतिमा संलग्न कम्युनिष्ट । यी रोगहरुबाट २०६३ सालपछि नेपाल ग्रसित छ । माओवादीले विदेशी र इसाईका गोटी बनेर कथित जनयुद्धको नाममा प्रहरी, सैनिक गरिब जनताको प्रयोजनहीन हत्या, जनधनको क्षति, राष्ट्रको भौतिक संरचना ध्वस्त गराउने, आगजनी गरेर बरबाद गरे ।

नेपालका पहिचान, राष्ट्रिय एकता दिवस नमनाउने, राष्ट्रनिर्माता पृथ्वीनारायण शाह लगायत देशभक्तहरुको शालीक भत्काएर माओवादीहरुले अराष्ट्रिय कार्य गरेर निन्दनीय बने । २०६२–६३ को आन्दोलन भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’को प्रायोजन र सक्रियतामा भएको थियो । त्यो आन्दोलनको मुख्य लक्ष्य थियो नेपालको सार्वभौमसत्ता कमजोर बनाएर भारतको कब्जामा राख्ने । त्यसैले माओवादीलाई भारतमा नैं सुरक्षाकासाथ तालीम दिएर राखिएको थियो । भारतीय गुप्तचर संस्था ‘रअ’ले आफ्नो भरिया बनाएका माओवादीहरुसँग मिलेर जनआन्दोलनमा सरिक हुने कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका माधव नेपालहरु पनि माओवादीसँग मिलेर राष्ट्रघातमा सामेल भएर कांग्रेस र उनीहरुसँग मिलेर १२ बुँदे संझौतामा हस्ताक्षर गरेको हो ।

 

भारतीय गुप्तचर संस्थाको ललाई–फकार्इृमा माओवादीको पारामा लागेर कांग्रेस, एमालेका नेताहरुले २०४६ सालको जनआन्दोलनका उपलब्धिहरुलाई धोका दिएर राष्ट्रियताका संवेदनशील कुराहरु गुमाएकाले बितेको १० वर्षदेखि कांग्रेस र एमाले पार्टीहरु अन्योलग्रस्त छन् । २०६३ सालको आन्दोलनपछि कांग्रेस र एमालेका नेताहरुले माओवादीको अरौटे बनेकाले सैद्धान्तिक विचलनमा फसेकाले अहिलेसम्म माओवादीहरु छाति फुकाएर फूँई लगाएर हिंडेका छन् । माओवादी नेता बाबुराम भट्टराई, प्रचण्डहरु भारतीय गुप्तचर संस्थाको निर्देशन अनुसार २०६३ सालको जनआन्दोलनमा भिड्न तयार पारिएको जत्था थियो भन्ने कुरा बुझेर पनि कांग्रेस र एमालेका नेताले पद र पैसाको लोभमा परेर २०६२ साल मंसिर ७ गते दिल्लीमा १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए । त्यहीबेलादेखि नेपालको राष्ट्रियता र संसदीय प्रजातन्त्र खतरनाक मोडमा पुगेको हो ।

 

नेपालको गौरवमय इतिहास कस्तो थियो भने चिनीया यात्री हुयानसाङले नेपालको भ्रमण गरेर आफ्नो यात्रा बृतान्तमा भनेका थिए– ‘नेपालको राज्य ब्यवस्थाले छिमेकी राज्यहरुमा आफ्नो प्रभाव कायम राखेको थियो । लिच्छवि कुलोत्पन्न क्षेत्रीय राजा छन् जसलाई अनेक कुराको ज्ञान छ । यहाँ अंशुवर्मा नामका राजा थिए, यिनको प्रताप र प्रतिभाको कीर्ति टाढा–टाढासम्म विख्यात थियो ।’ यही क्रमले लिच्छवि लगायत बाइसी, चौबिसी, मल्ल र शाह राजाहरुले यस क्षेत्रको मौलिकता बचाएरै राखेका थिए । राजा महेन्द्र मल्लको समयमा तिब्बतमा नेपालको मोेहर (मुद्रा) चलाउने ब्यवस्थाको संझौतालाई निरन्तरता दिएर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले छिमेकी राज्यहरुसँग राम्रो सम्बन्ध कायम राखेका थिए ।

 

पृथ्वीनारायण शाहबाट तिब्बतमा अन्न, बस्र, सिक्का आदि निर्यात गरिन्थ्यो र सुन, नुन, भेडा, च्यांग्रा आदि आयात गरिन्थ्यो । भोटबाट सस्तो भाउमा सुन ल्याउने र त्यो सुन भारतमा महंगोमा बिक्री गरी भारतबाटै सस्तोमा चाँदी खरिद गरी रुपैयाँ बनाई भोटमा निर्यात गरिन्थ्यो । इतिहासका कुटनीतिक पाठहरु सिक्दै विश्वब्यापीकरण गर्ने अवस्थामा नेपाल जस्तो प्राकृतिक र सांस्कृतिक वैभवयुक्त राष्ट्र अहिले खतरामा छ, अभावग्रस्त छ, आफ्नै अस्तित्वको लडाईमा छ । नेपालमा २०७२ साल असोज ३ गते संविधान घोषणा भएता पनि अहिले नेपाल संविधानविहीन जस्तो अवस्थामा छ । अतः नेपाल जस्तो सानो राष्ट्रमा एक नेपाली जाति भएर नेपालको पहिचानको रुपमा विश्वको एकमात्र हिन्दु अधिराज्यलाई अटल राखेर नेपालको सार्वभौमसत्ताको मेरुदण्डको रुपमा स्थापित राजसंस्थाको संरक्षणमा एक भएर नेपाललाई धर्म युद्धमा फसाउनेहरुको बिरुद्ध सचेत बनौं ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...