Saturday, March 25, 2017

अमेरिकी प्यासिफिक कमाण्डरको नेपाल भ्रमण सम्पन्न

काठमाडौँ – संयुक्त राज्य अमेरिकाको प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारी बी. ह्यारिस, जुनियरले नेपाल भ्रमण सम्पन्न गर्नुभएको छ । आफ्नो भ्रमणका क्रममा उहाँले अमेरिकाद्वारा सहयोग गरिएको बहुराष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी अभ्यास शान्ति प्रयासको उद्‌घाटन समारोहमा भाग लिनुका साथै नेपाली नेताहरूसँग भेटघाट गर्नुभयो ।

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज समेतको सहभागितामा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्र मन्त्री प्रकाशशरण महत, रक्षा मन्त्री बालकृष्ण खाँण, प्रधान सेनापति राजेन्द्र क्षेत्री तथा नेपाली सेनाका अन्य शीर्ष पदाधिकारीसँग भेटघाट गर्नुभयो । उहाँहरूसँगको भेटघाटमा एडमिरल ह्यारिसले अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापनाप्रतिको नेपालको प्रतिबद्धताको सराहना गर्नुका साथै अमेरिका तथा नेपालबीचको दशकौँ पुरानो सैन्य साझेदारीको विषयमा समेत छलफल गर्नुभयो ।

शान्ति प्रयास अमेरिकी सरकारको ग्लोबल पीस अपरेसन्स इनिसिएटिभ (विश्‍व शान्ति कार्य कार्यक्रम) को शिखर अभ्यास हो । अभ्यासमा भाग लिनका लागि विश्‍वभरिका ३० देशका झन्डै १,००० जना सहभागी एकै ठाउँमा भेला भएका छन् । यस वर्षको अभ्यास पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्‍चालन भएको छ । सहभागीहरू शान्तिसेनाको अगुवाइ गर्ने अधिकृतहरूको सीप सुधार गर्नप्रति लक्षित स्टाफ तालिम अभ्यासमा भाग लिनुका साथै सेनाको कार्यनीति स्तरको तालिममा समेत संलग्न छन् ।

अभ्यास शान्ति प्रयास ३ को उद्‌घाटन समारोहमा मन्तव्य राख्दै एडमिरल ह्यारिसले भन्नुभयो, “शान्ति कायम राख्‍नेदेखि लिएर प्राकृतिक विपद्‍पछि मानवीय सहायता प्रदान गर्ने कार्यसम्म साझेदारीले विश्‍वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्नमा महत्त्वपूर्ण भूमिका खेल्दछ । यस प्रकारको बहुराष्ट्रिय तालिमले आपसी समझदारी र सम्मानमा वृद्धि गर्नुका साथै थप सहकार्यलाई समेत प्रोत्साहन गर्दछ ।”

संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो जियोग्राफिक कम्ब्याटेन्ट कमाण्डको रूपमा रहेको प्यासिफिक कमाण्डका एडमिरल ह्यारिस २४औँ कमाण्डर हुनुहुन्छ ।

स्रोत :अमेरिकन राजदुताबास काठमाडौँ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...