Monday, March 27, 2017

स्थानीय निर्वाचनको विकल्प छैन – पूर्व अर्थमन्त्री पाण्डे कालिका–७ मा एमाले कार्यालय उद्घाटन

चितवन १४ चैत्र ।

नेकपा एमाले कालिका नगरपालिका वडा नं. ७ को वडा कार्यालय सगुनटोलमा एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य, सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सो कार्यालय उद्घाटन गर्नुभएको हो । सो कार्यालय उद्घाटन गर्दै स्थायी कमिटी सदस्य पाण्डेले देश निर्वाचनमा होमिएकोले सबै नेता कार्यकर्ताहरु आगामी स्थानीय निर्वाचनमा लाग्न निर्देशन समेत दिनुभएको थियो । स्थानीय निर्वाचनको विकल्प नभएको भन्दै नेता पाण्डेले मधेशी मोर्चा पनि आन्तरिक रुपमा निर्वाचनको तयारीमा लागेको खुलासा गर्नुभयो । नेकपा एमालेले बैशाख १० गते भित्रै सबै उम्मेदवारको टुङ्गो लगाई सक्ने समेत बताउनुभयो ।

नेकपा एमाले निशुल्क शिक्षा, स्वास्थ्य, आवास र रोजगारीको ग्यारेन्टी हुनुपर्नेमा प्रतिवद्ध रहेको बताउनुभयो । सुकुम्बासी समस्या समाधान गर्न पनि स्थानीय निर्वाचनको विकल्प नभएको उहाँले बताउनुभयो । स्थानीय विभिन्न २२ वटा विषयमा ऐन बनाउने र कार्यान्वयन गर्ने अधिकार स्थानीय तहलाई रहेको भन्दै संविधानले दिएको सो अधिकार पूरा गर्न सक्ने क्षमतावान व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउने र विजयी गराउने उहाँले बताउनुभयो । वृद्ध भत्ता वृद्धि गर्न हुँदैन भन्ने नेपाली कांग्रेसले कहिल्यै पनि जनमुखी काम गर्न नसक्ने बताउँदै एमाले नेता पाण्डेले स्वस्थानीमा सतीदेवीको विभिन्न स्थानमा अङ्ग पतन भएको जस्तै विभिन्न टुक्रामा माओवादी सकिदै गएको उहाँले बताउनुभयो । जनताको भरोसाको पार्टी नेकपा एमाले मात्र भएकोले यसको विकल्प नभएको समेत उहाँले बताउनुभयो ।


पूर्व अर्थमन्त्री पाण्डेले कालिका नगरपालिकाको उदयपुर सामुदायिक वन क्षेत्रमा बन्ने औद्योगिक क्षेत्र जनतालाई बाधा पु¥याउने गरी बन्न नहुने बताउनुभयो । पर्यावरणीय सन्तुलन कायम राखी, स्थानीयको माग सम्बोधन हुने गरी औद्योगिक क्षेत्र निर्माण गर्ने पक्षमा एमाले पार्टी रहेको समेत उहाँले बताउनुभयो । नेकपा एमाले कालिका नगर कमिटी वडा नं. ७ का अध्यक्ष हरि कुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई प्रमुख अतिथि पाण्डेले टिका लगाई स्वागत गर्नुभएको थियो । वडा कमिटी सदस्य उमाकान्त सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नेकपा एमालेका क्षेत्रीय इञ्चार्ज गोपी श्रेष्ठ, जिल्ला सचिवालय सदस्य बिनोद रेग्मी, नगर इञ्चार्ज जयचन्द्र प्रसाद चौधरी, नगर सदस्य केशव लामा, वडा सचिव बुद्धिराज लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...