Sunday, April 23, 2017

कविता ‘बसन्त’

धेरै बर्ष पछि,
बसन्त, पारी बनमा मग्मगाएको छ
बसन्त, वारी बागमा ढकमकाएको छ
तिम्रो आगमन संगै जीवनमा
बसन्त, मनमा जगमगाएको छ!

सुर्योदय सधै भएकै हो
चराहरुले गीत गाएकै थिए
आज सूर्यपनि चहकिलो उदाएको छ!
चराहरु त लोकमा संगीत दिन पो आएका रहेछन !
तिम्रो आगमन संगै
यो मनमा सूर्य जगमगाएको छ
तनमा संगीतको सरिता बगेको छ!

पारी डांडा को एकोहोरे झरनापनि
अब पो सुन्दर देखिन थाल्यो!
वारी पाखाको बनफूलपनि
ढकमक्क लालीगुराँस लाग्न थाल्यो!
तिम्रो आगमन संगै यो मनमा
झरना को पो संगीत बग्न थाल्यो
तिम्रो आगमन संगै तनमा
बनफूलपनि मग्मगाउन थाल्यो!

घोप्टो मुन्टो पारेर दैनिक दोबाटोमा
चित्र बनाउन तन्मय बुढो कलाकारलाई
सधै तिरस्कार गरियो
तिम्रो आगमन संगै जीवनमा
उसले पोतेका रंगहरु, यो मनमा
इन्द्रेणी बनेर सल्बलाउन थालेका छन्!
कहिले छोएन उसको समर्पणले
तिम्रो आगमनसंगै जीवनमा,
मेरो मुटुले पनि समर्पणको मूल्य बुझेको छ!

धेरै बर्ष पछि,
बसन्त, पारी बनमा मग्मगाएको छ
बसन्त, वारी बागमा ढकमकाएको छ
तिम्रो आगमन संगै जीवनमा
बसन्त, मनमा जगमगाएको छ!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...