Saturday, April 8, 2017

नेपालीको सामाजिक एकतामाथि प्रहार : नेता राई

बनियानी (झापा), २६ चैत । नेकपा (एमाले) का नेता शेरधन राईले नेपालीको सामाजिक एकता, सार्वभौमिकता तथा सांस्कृतिक सुन्दरतामाथि प्रहार गर्ने क्रियाकलाप मुलुकमा भइरहेको बताउनुभएको छ ।

स्पार्क पूर्वाञ्चल अस्पताल, बिर्तामोडको चौथो वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै पूर्व सञ्चारमन्त्री राईले नेपालीको सुन्दर एकतामाथि प्रहार गर्ने गतिविधि र क्रियाकलापले देशलाई द्वन्द्वमा धकेल्ने बताउनुभयो ।

उहाँले अस्थिरता र मुलुकलाई उल्टो बाटोमा हिँडाउने मनसायका साथ केही राजनीतिक शक्ति लागेको दाबीसमेत गर्नुभयो । तर, उहाँले त्यो राजनीतिक शक्ति कुन हो भन्ने स्पष्ट पार्नुभएन ।

उपप्रधानमन्त्रीको बरियताका विषयले मन्त्रिपरिषद्मा अहिले किचलो सिर्जना भएको उल्लेख गर्दै नेता राईले भन्नुभयो – “अहिले निर्वाचनमा केन्द्रित हुनुपर्ने समय हो, सरकारको ध्यान यता जानु आवश्यक छ ।” सरकारले अझै निर्वाचनका लागि भरपर्दो वातावरण बनाउन नसकेको उहाँको भनाइ थियो ।

“मधेसवादी दलले व्यर्थैमा संविधान संशोधनको कुरा निकालेर झन्झट थपिरहेको छ”, उहाँले भन्नुभयो – “सरकार त्यसकैपछि लागेर निर्वाचनको भरपर्दो वातावरण निर्माणमा कमजोर सावित भएको छ ।”

प्राकृतिक चिकित्सा पद्धतिलाई सरकारले उपचारको पहिलो प्राथमिकतामा राख्न सक्नुपर्नेसमेत उहाँले औँल्याउनुभयो ।

एमाले नेतृत्वको सरकारले कडाखाले रोगको उपचारका लागि निःशुल्क स्वास्थ्य सेवा सुरु गरेको र बजेटमा नै रकम विनियोजन गरी सेवालाई प्रभावकारीरुपमा अघि बढाउन सुरु गरेको उहाँले स्मरण गराउनुभयो ।

उहाँले पूर्ववर्ती सरकारले हरेक नागरिकको अनिवार्य स्वास्थ्य बिमा गर्ने योजनाका साथ कार्यक्रम अघि सारेपनि वर्तमान सरकारले त्यसलाई प्राथमिकतामा राख्न नसकेको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेता राईले ‘स्पार्क पूर्वाञ्चल स्मारिका–२०७३’ को विमोचनसमेत गर्नुभयो । कार्यक्रममा अस्पतालका अध्यक्ष शिव ढुङ्गेलले अस्पतालको कार्यबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा स्मारिका प्रकाशन समितिका संयोजक वसन्त बानियाँ, डा अनिल महतो, स्पार्क अस्पताल धरानका डा साजन श्रेष्ठ, एमाले नेत्री पवित्रा खरेललगायतले मन्तव्य राख्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...