Sunday, April 2, 2017

ए निर्दयी सपनाहरु हो ! अब सुत्न जाओ !

ए निर्दयी सपनाहरु हो !

मलाई देख्नु छैन तिमीलाई,

किन म आँखा चिम्लिएको बेला झुल्किन्छौ ?

मैले बुईगलमा सुस्केरा हाल्दै

ठाँटीमा पसिना सुकाएको बेला

मैले मझेरीमा गोडा बिसाएको बेला

किन मेरो तन्द्रा भंग गर्छौ?

कहिले लोभ्याउन आउछौ

कहिले लडाउन आउछौ

बिन्ती छ, मलाई छोड़ी

ए निर्दयी सपनाहरु हो ! अब सुत्न जाओ ।

मलाई तिमीले भरेको झोली चाहिन्न

तिमीले देखाएको भोलि चाहिन्न

म त वर्तमानमा झकाउने मान्छे

किन झस्काउछौ फेरि

मैले आँखा चिम्लन नपाउँदै

मेरै खुशीमा दाह्रा चपाउँदै

बचे खुचेका मेरा खुशी धपाउँदै

मेरो शयनमा धावा बोल्न नआओ

ए निर्दयी सपनाहरु हो ! अब सुत्न जाओ ।

मेरी आमा भन्नुहुन्थ्यो:

छोरा, सपना देख्न त निदाउनु पर्छ

तर मेरा आँखाका ढकनी बन्द नहुदै

तिमीहरु आउछौ, जिस्काउछौ

म तिमीहरुको पछि पछि भाग्छु

म माग्छु, तिमीहरु दिन्नौ

म माग्दिन, तिमीहरु थोपर्छौ

किन म प्रति सधै बैरभाव राख्छौ

म जे छु ठिक छु

सधै मैले मागेको भीख लुट्न नआओ

ए छुच्चा सपनाहरु हो ! अब सुत्न जाओ

मलाई मेरा बा ले भन्नुहुन्थ्यो:

छोरा सपना सपनै हो

उठ्दा हुन्न, सुत्दा पछ्याउछ

सपना जुवा जस्तै हो, धेरैले गुमाउँछन्

थोरैले समात्छन्,

मैले पनि न समात्न सकेँ

न त च्यात्न सकेँ

मलाई मेरै शिसा काफ़ी छ

मेरै जीविका काफ़ी छ

तिमीहरु यहाँ फूट्न नआओ

ए निर्दयी सपनाहरु हो ! अब सुत्न जाओ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...