Wednesday, April 12, 2017

कुनै पनि हालतमा वैशाख ३१ गतेको निर्वाचन सर्दैन : स्वास्थ्यमन्त्री थापा

भक्तपुर, ३० चैत । स्वास्थ्यमन्त्री गगन थापाले कुनै पनि बहानामा वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस मध्यपुर थिमि नगर समितिले आज थिमिको भुँलाखेलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले दुई वा दुईभन्दा बढी चरणमा भए पनि निर्वाचन हुने तर वैशाख ३१ गतेको मिति हेरफेर नहुने बताउनुभएको हो ।

उहाँले कार्यकर्तालाई आश्वस्त पार्दै भन्नुभयो, “आकाश खसे पनि धर्ती फाटे पनि वैशाख ३१ गतेको निर्वाचन सर्दैन ढुक्क हुनुहोस् ।” उहाँले प्रमुख प्रतिपक्ष नेकपा (एमाले) र मधेसवादी दललाई जिम्मेवार ढङ्गले प्रस्तुत हुन पनि आग्रह गर्नुभयो ।

संविधानको सफल कार्यान्वयनको एक मात्र कडी स्थानीय तहको निर्वाचन भएको बताउँदै मन्त्री थापाले एमाले र मधेसवादी दललाई सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधनको प्रस्तावलाई प्रस्थान विन्दु मानेर सहमतिमा आउन आग्रहसमेत गर्नुभयो ।

समयमा निर्वाचन नभए संविधान असफल हुने र त्यसले मुलुकमा बिखण्डनवादी हाबी हुने बताउँदै मधेसबिना निर्वाचन सम्भव नभएकाले संविधान संशोधनको संशोधित प्रस्ताव संसद्मा दर्ता गरेको जानकारी दिनुभयो । मुलुकमा नक्कली राष्ट्रवाद हाबी हुन खोजेको बताउँदै उहाँले मधेसलाई नेपाल नदेख्नेले राष्ट्रवादको कुरा गर्नु गलत भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा सांसद रामेश्वरप्रसाद ढुङ्गेलले संविधान निर्माणको नेतृत्वमा निर्माण भएको संविधानको सफल कार्यान्वयनको जिम्मेवारी नेपाली काँग्रेसको भएकाले यसलाई सफल बनाउन स्थानीय तहको निर्वाचनमा काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस मध्यपुर थिमि नगरसभापति सुरेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, निवर्तमान सभापति गणेशमान चक्रधर, पूर्वसभापति महेश श्रेष्ठ, मध्यपुर थिमि नगर समितिका निवर्तमान सभापति अष्टकुमार कवे, मध्यपुर थिमिका पूर्वमेयर मदनकृष्ण श्रेष्ठ, उपमेयर मुरारीप्रसाद आचार्य, नेपाली काँग्रेस क्षेत्र नं १ सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायणभक्त खायमलीलगायत नेताले स्थानीय तहको निर्वाचनमा कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...