Monday, June 12, 2017

‘सबै वर्गलाई अधिकार सम्पन्न बनाउने पहल जारी’ अध्यक्ष दाहाल

काठमाडौँ, २९ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकभित्रका मधेसी, आदिवासी, जनजाति तथा अल्पसङ्ख्यक समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आफू र आफ्नो पार्टीको प्रयास निरन्तर जारी रहेको बताउनुभएको छ ।

डा जितेन्द्र महासेठलगायतलाई आज पार्टी प्रवेश गराउँदै उहाँले संविधानसभाबाट जारी संविधान कार्यान्वयनका लागि आफू र आफ्नो पार्टीको तर्फबाट हालसम्म पनि प्रयास जारी रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनपछि संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको चर्चागर्दै दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने र यसबाट सबै वर्ग तथा क्षेत्रको अधिकार संस्थागत हुने धारणा व्यक्त गर्नुभयो ।

डा महासेठको पार्टी प्रवेशले मधेस र मधेसी बुद्धिजीवीमा निकै ठूलो सन्देश जान्छ, उहाँले भन्नुभयो, “माओवादीले मधेस र मधेसी जनतालाई निरास पार्दैन, सिङ्गो देशलाई एकताबद्ध बनाएर मात्रै देशको परिवर्तन र विकासले नयाँ गति लिन सक्दछ, तपाईँको माओवादी प्रवेशले मधेस, मधेसी जनता र मधेसी बुद्धिजीवीमा निकै ठूलो सन्देश जानेवाला छ ।”

तत्कालीन गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नेतृत्वमा २०४२ सालमा राजामाथि गरिएको बम हमलाको उहाँ एक कमाण्डर हुनुहुन्थ्यो । बम काण्डपछि डा महासेठले १३ महिना लामो यातनापूर्ण हिरासत जीवन बिताउनुभएको थियो । जनवादी मोर्चाका नेतासमेत रहेका महासेठले २० वर्ष नेपाल मेडिकल कलेजको निर्देशक भएर काम गर्नुभएको थियो ।

सो अवसरमा डा महासेठले आफू राष्ट्रिय एकता र परिवर्तनप्रतिको माओवादीको प्रतिबद्धताबाट प्रभावित भएर माओवादी केन्द्रमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादीले अघि सारेको राष्ट्रिय एकताको नीति नै सही छ, नेपालभित्रको जुनसुकै भूगोलमा बसेका व्यक्ति नेपाली हुन, तिनीहरुलाई समान आँखाले हेरेर मात्रै राष्ट्रिय एकता बलियो हुन्छ, माओवादीको यो नीतिले देशलाई एकताबद्ध गर्ने निष्कर्षसहित आफू माओवादी केन्द्रमा आएको हुँ ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...