Saturday, June 10, 2017

स्वागत, सम्मानमा सहभागी नहुने पोखराका प्रमुखको घोषणा

पोखरा, २८ जेठ । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जननिर्वाचित प्रतिनिधिलाई गरिने स्वागत, बधाई तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गर्नुभएको छ ।

पोखरा–७ को एयरपोर्ट टोल विकास संस्थाद्वारा निर्मित चौतारीको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिसीले महानगरवासीको अन्तरआत्मादेखिकै सम्मानले आफू प्रमुखमा निर्वाचित भएको बताउनुभयो ।

“तपाईंहरुले मत दिनु नै मेरा लागि सबैभन्दा ठूलो सम्मान हो”, उहाँले भन्नुभयो – “आगामी दिन सम्मान र बधाईको सट्टा समृद्ध महानगर बनाउने अठोटलाई साकार पार्न सबैले साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।”

विभिन्न सङ्घसंस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी हुँदा जनताको कामसमेत प्रभावित भएको महसुस गरी आफूले यो घोषणा गरेको उहाँको भनाइ थियो ।

बधाई, शुभकामना, शुभेच्छाका साथै केही गुनासो भए राख्न दिउँसो ३ बजेपछि कार्यालयमै प्रमुखसँग भेट्ने व्यवस्था मिलाएको जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताउनुभयो ।

जनप्रतिनिधिलाई सम्मान

यसैबीच, नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं ३ द्वारा आयोजित एक कार्यक्रमकाबीच वडाबाट जननिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ ।

कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ता, स्थानीय सङ्घसंस्था तथा शुभेच्छुकहरुले निर्वाचित वडाध्यक्ष मनबहादुर गुरुङसहित वडासदस्यहरुलाई अबिर, माला र खादाले सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै कास्की काँग्रेसका सचिव सुदीपमोहन भट्टराईले काँग्रेसले स्थापित गरेको लोकतन्त्र कहिल्यै कसैसँग नहार्ने उल्लेख गर्नुभयो ।

कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जनताको मन जित्ने काम गरी पार्टीलाई सशक्त बनाउनु अहिलेको आवश्यकता भएको औँल्याउनुभयो ।

नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं ३ का कार्यबाहक सभापति नारायण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष मनबहादुर गुरुङ, युवा नेता अर्जुन गुरुङलगायतले पार्टीको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...