Saturday, June 24, 2017

भारतसँग जोडिएको सीमानाका ७२ घन्टा बन्द गर्ने सहमति

बैतडी, १० असार । यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेर भारतसँग जोडिएको सीमानाका ७२ घन्टा बन्द गर्ने सहमति भएको छ ।

दार्चुलामा शुक्रबार भएको संयुक्त सीमा सुरक्षा बैठकमा चुनावलाई ध्यानमा राखी सीमानाका बन्द गर्ने सहमति भएको बैतडीका प्रजिअ तुलसीराम पौडेलले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर भारतको पिथौरागढ जिल्लाका डिएम, दार्चुला र बैतडीका प्रजिअ र सुरक्षा निकायका प्रमुखको बैठकमा नेपालमा हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सहयोग आदानप्रदान गर्ने सहमति भएको हो ।

सोअनुसार यही असार १२ गते बिहान ७ बजेदेखि असार १५ गते बिहान ७ बजेसम्म सीमानाका बन्द हुने छ । सीमा सुरक्षा बैठकमा चुनावी सुरक्षाका साथै सीमा क्षेत्रमा हुन सक्ने अपराध न्यूनीकरण गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन, वन्यजन्तुको चोरी सिकारलगायत अपराधको न्यूनीकरणका विषयमा दुवै देशका सुरक्षा अधिकारी चनाखो रहने सहमति भएको उहाँले बताउनुभयो । यस्तै महाकाली नदीमा बन्ने भनिएका झोलुङ्गे पुल निर्माणका लागि दुवै देशका स्थानीय प्रशासनले चाल्नुपर्ने कदम यथाशीघ्र चाल्ने सहमति पनि भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...