रौतहट
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड देशमा बाढीबाट सबैभन्दा बढी प्रभावित रौतहट रहेकोले आफूले विभिन्न जिल्लाको स्थलगत भ्रमणमा पाएकाले संकटग्रस्त जिल्ला घोषणा गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । रौतहटको गरुडामा आयोजित जनसभालाई विहीवार सम्बोधन गर्दै नेता प्रचन्डले बाढीबाट देशमा सबैभन्दा बढी जनधनको क्षति रौतहटमा भएको र बाढी पीडितको बेहाल भएको आफूले देखेकोले रौतहटलाई संकटग्रस्त जिल्ला घोषणा गरी पीडितलाई राहत दिलाउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा नेता प्रचण्डले शाही राष्ट्रवादीहरुबाट संघीयता, समावेशीता र गणतन्त्रलाई खतरा रहेको बताएका छन् । सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने पार्टीलाई सहयोग र विश्वास गर्न नेता प्रचण्डले सबैलाई आग्रह गरेका छन् ।
दाहालले संविधान संशोधनको प्रक्रिया टुंगो लगाएर २ नम्वर प्रदेशमा निर्वाचनको माहौल बनाएकोमा मधेशमा सबैभन्दो ठूलो पार्टी माओवादी केन्द्र हुने ठोकुवा समेत गरेका छन् । हरेक दिन हजारौँ मानिस पार्टीमा प्रवेश गरेको उदाहरणहरु दिँदै दाहालले जनताले आफूले पाएको अधिकारको संरक्षण गर्न पनि माओवादीलाई जिताउन आतुर रहेको दाबी गरेका छन् । क्षेत्रिय र साम्प्रदायिक पार्टीबाट जनताको हित, पहिचान स्थापित हुन नसक्ने तथा धर्मनिरपेक्षता, संघियता, गणतन्त्र, समानुपातिक समावेशी अधिकारको लागि लडाई लड्दा १३ सय मधेशी जनताको बलिदानीबाट संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गराउनमा माओवादी केन्द्रको नेतृत्वदायी भुमिका रहेको देशै भरीका जनताहरु बुझीरहेको बताए । दाहालले मधेसवादी दलप्रति लक्षित गर्दै खुद्रा पसलेको संज्ञा दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सहरी विकास मन्त्री प्रभु साहले मधेसको हकमा माओवादीले गरेको संघर्षको परिणामले नै देशमा संघीयता, गणतन्त्र र समावेशी अधिकार आएको भन्दै अझै पनि बाँकी रहेको अधिकार र अपूरो संविधानलाई मधेसीको पक्षमा संशोधनको पहल माओवादीले नै गर्ने बताएका छन् । जिल्लालाई भौतिक विकासमा सम्पन्न बनाउन आफूले प्रयास गरिरहेको र यस अभियानमा सबैले साथ दिनुपर्ने बताएका छन् ।
विभिन्न केन्द्रीय तथा जिल्लास्तरका नेता कार्यकर्ता सहभागी कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौँजना माओवादीमा प्रवेश गरेका छन् । राजपा नेपालको जिला अध्यक्ष मण्डलका सदस्य शेख नुरुल होदा आफ्ना साढे दुई सय कार्यकर्ता तथा समर्थक सहित माओवादीमा प्रवेश गरेका छन् । यसै गरी नेकपा एमाले परित्याग गरी चर्चित महिला नेतृ देवकी नेपाल, परिवार दल परित्याग गरी नथुनी प्रसाद चौधरी लगायतकाले समर्थक र कार्यकर्तासहित माओवादीमा प्रवेश गरेका छन् ।
नेता प्रचण्डले साउन २१ गते सडकको छेउमा रहेको खाल्टोमा डुबी मृत्यु भएका चार बालिकाका अभिभावकलाई जनही दश हजार रुपैयाका दरले आर्थिक सहयोग उपलब्ध गराएका छन् । खाल्टोमा डुबी मर्ने दुई बालिकाका पिता राम एकबाल साहलाई चालीस हजार रुपैया हस्तान्तरण गर्दै पूर्व प्रधानमन्त्री प्रचण्ड र सहरी विकास मन्त्री प्रभु साहले पार्टीको तर्फबाट सहयोग गरिएको र सरकारको तर्फबाट थप सहयोग गराउने बताएका छन् ।
No comments:
Post a Comment