काठमाडौँ, १५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा हाम्रा वीर सैनिकले आर्जेको नेपाल र नेपालीहरुको छवि उच्च राख्ने प्रण गर्दै शान्ति स्थापना गर्ने कार्यमा निष्ठा र ईमान्दारीताका साथ समर्पित हुन निर्देशन दिनुभएको छ ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ हुन जाने श्री सिद्धिबक्स गण (शा से) चौंथो डफ्फालाई नेपाली सेनाका परमाधिपति एवं राष्ट्रपति भण्डारीले उक्त निर्देशन दिनुभएको हो ।
पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरेको पूर्वअभ्यास तालिम एवं तालिम समापन समारोहमा राष्ट्रपति भण्डारीले पठाउनुभएको उक्त सन्देश बलाध्यक्ष रथी पूर्ण चन्द्र थापाले पढेर सुनाउनुभएको थियो ।
राष्ट्रपति भण्डारीले सन्देशमा नेपालको परराष्ट्र नीतिलाई हृदयंगम गर्दै नेपाल र नेपालीको मान, सम्मान र छविलाई उच्च राख्न नेपाली सेनाबाट आजसम्म भएको योगदानप्रति हामी सबै नेपालीले गौरव गर्न सक्ने उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ, “शान्ति स्थापना कार्यमा गौरवमय छवि बोकेको गरिमामय नेपाली सेनाको ५९ वर्ष भन्दा लामो इतिहासमा तपाईंहरु जस्ता अग्रज शान्ति सैनिकहरुको अथक प्रयास सराहनीय रहेको छ ।”
सो अवसरमा बलाध्यक्ष रथी विश्वमा बढ्दै गइरहेको द्वन्द्व तथा अस्थिरताको कारण ठूलो संख्यामा सर्वसाधारण जनता द्वन्द्वको प्रत्यक्ष असरमा परेको हुँदा त्यसको क्षति तथा द्वन्द्वको पीडाबाट सर्वसाधारण जनतालाई सुरक्षित राख्न महत्वपूर्ण तथा जटिल जिम्मेवारी रहने बताउनुभयो ।
मिशनमा तैनाथ हुन जाने गणले प्रदर्शन मिशन इलाकामा आइपर्ने चुनौती र गर्नुपर्ने कार्यसम्बन्धी विभिन्न अभ्यास तथा प्रदर्शनीको समेत प्रस्तुत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
No comments:
Post a Comment