Tuesday, September 26, 2017

चितवनमा सामुदायिक वनद्वारा विद्यार्थीलाई छात्रवृत्ति तथा गोबर ग्याँस अनुदान प्रदान

शिशिर सिंखडा
खोलेसिमल, चितवन, १० असोज ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ७ स्थित उदयपुर सामुदायिक वन उपभोक्ता समूहले विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ भने गोबर ग्याँस प्लान्ट निर्माण गर्ने उपभोक्तालाई अनुदान रकम पनि आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ ।
सामुदायिक वनद्वारा आयोजित विजया दशमी तथा दिपावलीको अवसरमा आयोजित कार्यक्रममा सामुदायिक वनको कार्यक्षेत्र भित्र रहेका १६ वटा विद्यालयका २–२ जना विद्यार्थीलाई रु. १ हजार ५ सयको दरले छात्रवृत्ति प्रदान गरिएको थियो । त्यस्तै समूह भित्रका गोबर ग्याँस निर्माण गर्ने २० जना उपभोक्तालाई १६ हजार रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइएको थियो । समूहले गोबर ग्याँस प्लान्ट निर्माण गर्ने प्रत्येक उपभोक्तालाई अनुदान दिने बताउदै वन जङ्गल जोगाउन गोबर ग्याँस प्लान्ट निर्माण गर्न समेत उपभोक्ताहरुलाई अनुरोध गरिएको सामुदायिक वनका अध्यक्ष केशब लामाले बताए ।

समूहले पिकनिक स्थल तथा मनोरञ्जन केन्द्रको समेत कार्यथालनी गरेको छ । पर्यटकीय रुपमा समेत विकास गर्ने उद्देश्यले कार्य थालिएको केन्द्र निर्माण सम्पन्न गर्न ३४ करोडको योजना तयार गरिएको छ । यस वर्ष १ करोड लगानी गरी पिकनिक स्थल निर्माण, खानेपानी ट्याङ्की निर्माण, भ्यू टावर निर्माण, चिल्ड्रेन पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको केन्द्र निर्माण समितिका संयोजक तथा वन समूहका उपाध्यक्ष सुदर्शन अधिकारीले जानकारी दिए ।

 

कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठले आज आयोजित कार्यक्रममा वन समूहको नव निर्मित कार्यालयको भवनको उद्घाटन गरेका थिए । त्यस्तै विद्यार्थीलाई छात्रवृत्ति तथा उपभोक्तालाई गोबर ग्याँस अनुदान रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा जिल्ला वन अधिकृत केदारनाथ पौडेल, नेपाली काँग्रेस कालिका नगर सभापति राजु श्रेष्ठ, नेकपा एमाले कालिका नगर संयोजक भिष्म प्रसाद खनाल, माओवादी केन्द्र कालिका नगर इन्चार्ज रामध्वज डल्लाकोटी, कालिका वडा नं ६का वडा अध्यक्ष विनोद रेग्मी, नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाका सचिव भिमप्रसाद खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष सुदर्शन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम संस्थाका अध्यक्ष केशब लामाको अध्यक्षतामा भए

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...