सञ्जय मित्र, रौतहट
रौतहटमा ऐतिहासिक तथा नमूनारुपमा शान्तिपूर्ण किसिमले स्थानीय तहको निर्वाचन भएको छ । करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको चुनावमा एक ठाउँमा गोली चल्नुबाहेक सामान्यतया शान्तिपूर्ण रुपमे मतदान सम्पन्न भएको छ । विगतका सम्पूर्ण तथ्यांकहरुलाई उछिन्दै जिल्लामा ७५ देखि ८० प्रतिशत मतदान सम्पन्न भएको रौतहटका मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले जानकारी गराएका छन् ।
मौलापुर नगरपालिकाको वार्ड नम्बर ३ गम्हरियामा नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताबीच भएको विवादले मारपिटको रुप लिएपछि प्रहरीले एक राउण्ड गोली हवाई फाएर गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । जिल्लाभर मतदान अत्यन्त उत्साहका साथ शान्तिपूर्ण रुपले सम्पन्न भएको रौतहटका प्रहरी प्रमुख एसपि यज्ञविनोद पोखरेलले जानकारी गराएका छन् ।
मतदान सम्पन्न भएपछि जिल्लाभर रहेका मतगणनास्थलमा मतपेटिकाहरु संकलन गर्ने काम भइरहेको छ । कतिपय ठाउँमा अहिले साँझदेखि नै मतगणना हुने प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापाले बताएका छन् ।
जिल्लाका प्रमुख तथा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, प्रभु साह, अनिल झा लगायतले आफ्नै गृह नगरबाट मतदान गरेका छन् ।
No comments:
Post a Comment