शिशिर सिंखडा
भरतपुर, चितवन, १३ कार्तिक ।
नेपालका लागि मित्र राष्ट्र चीनका राजदुत यु हङले चितवनको कृषि, पर्यटन लगायत विभिन्न क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको बताएकी छन् । जिल्ला समन्वय समिति चितवनमा आज सोमबार आयोजित भेटघाट कार्यक्रममा चिनिया राजदुत यु हङले नेपालको विभिन्न क्षेत्रमा चिनिया सरकारले सहयोग गरेको स्मरण गर्दै चितवन जिल्लाको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा राजदुत हङले पर्यटकीय नगरीको रुपमा विकसित चितवनको पर्यटन क्षेत्रको विकासको लागि आवश्यक सहयोग गर्न इच्छुक रहेको बताईन् ।
आधुनिक कृषि प्रणाली चितवनमा आवश्यक रहेको भन्दै उनले कृषि क्षेत्रको विकासको लागि चीन सरकारले आवश्यक प्राविधिक सहयोग गर्ने समेत बताईन् । जिल्लामा प्राविधिक शिक्षामा सहयोग गर्न पनि चीन सरकार सकारात्मक रहेको राजदुत हङले बताईन् । चीन सरकारको सहयोगमा बनेको बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नती र आधुनिकीकरणका लागि सहयोग गर्ने, त्यस्तै चीन र नेपालको विकास र विकासका अवधारणा आदानप्रदान गर्न पनि आवश्यक रहेको भन्दै राजदुत यु हङले चीनमा हुन लागेको चिनिया एक्स्पोमा सहभागी हुन समेत जिल्ला समन्वय समिति प्रमुखलाई अनुरोध समेत गरेकी थिइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले चितवनको भौगोलिक, आर्थिक, सामाजिक अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका स्थानीय विकास अधिकारी कृष्ण प्रसाद सुवेदी लगायतले कार्यक्रममा चितवनको विकास निर्माण र आवश्यक सहयोग गर्नुपर्ने क्षेत्रको बारेमा जानकारी गराएका थिए ।
No comments:
Post a Comment