Thursday, November 23, 2017

एनडिआरसी नेपाललाई जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

बोन (जर्मनी), ७ मंसिर  ः दिगो कृषि प्रणाली, जैविक विविधता संरक्षण, विपद् जोखिम व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन र सिमसार संरक्षणमा महत्वपूर्ण योगदान गरेवापत राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र (एनडिआरसी नेपाल) लाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्वन्धि महासन्धि (युएनएफसिसिसी) को २३ औं सम्मेलन (कोप–२३) का अवसरमा यहाँ आयोजना गरिएको विशेष कार्यक्रममा विश्व वातावरण कोषका प्रमुख कार्यकारी अधिकृत डा.नाओका इसिले एनडिआरसीलाई सो पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा एनडिआरसी.नेपालका कार्यकारी निर्देशक डा धु्रव गौतमले अर्घाखाँची र कपिलवस्तुमा पर्ने बाँणगंगा नदीतटीय क्षेत्रको तल्लो भागमा रहेका कृषि भू–भाग र सिमसार क्षेत्रको दिगो विकासमा माथिल्लो भागमा गरिने दिगो कृषि प्रणाली, जैविक विविधता संरक्षण र विपद् जोखिम न्यूनीकरणले कसरी महत्वपूर्ण भूमिका खेल्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको थियो । खोरीया फँडानी, फिरन्ते खेती प्रणालीलाई कम गर्नमा पनि संस्थाले पु¥याएको योगदानको सो अवसरमा उच्च प्रशंसा गरिएको थियो ।

विश्वका ७० देशका ३३८ गैरसरकारी संस्थाहरुबीच गरिएको प्रतिस्पर्धाबाट सो संस्था छनौटमा परेको थियो । विभिन्न छ वटा विधामध्ये निर्णायक मण्डलको पहिलो रोजाइको सो पुरस्कारको राशि रु ३१ लाख र सम्मानपत्र रहेको छ । छनौट समितिमा विश्व वातावरण कोष, स्टकहोम पुर्नस्थापन केन्द्र, सेभ द चिल्ड्रेन, विश्व वन्यजन्तु कोष, रेयर, जैविक अन्तर्राष्ट्रियलगायत १९ वटा संस्था संलग्न रहेका छन् ।

‘‘समाधानको खोजी स् दिगो कृषि प्रणाली जैविक विविधता संरक्षण’’ पुरस्कारलाई अन्तर्राष्ट्रिय जलवायुका पहलहरु नामक आभियानले आर्थिक सहयोग गरेको छ । यसमा जर्मनीको वातावरण मन्त्रालय, प्रकृति संरक्षण र भवन तथा आणविक सुरक्षाजस्ता निकायहरुको सहयोग रहेको छ । विगत तीन वर्षदेखि रेयर, जैविक अन्तर्राष्ट्रिय र अन्तर्राष्ट्रिय जैविक विविधता सचिवालयले संयुक्तरुपमा विश्वभरबाट ‘विकासका समस्या र दिगो समाधान’ को खोजी गर्ने उत्कृष्ट संघसंस्थाहरुलाई पुरस्कृत गर्ने परिपाटी सुरु गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...