शिशिर सिंखडा
खोलेसिमल, चितवन, १७ कार्तिक ।
जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था लि. कालिका ६, खोलेसिमलको १०औं वार्षिक साधारण सभामा उत्कृष्ट कृषि समूह र सदस्यलाई सम्मान गरिएको छ । संस्थाबाट ऋण लिई व्यवसायिक गोलभेडा खेती गर्ने कालिका वडा नंं १ मा रहेको महिला एकता समूहलाई कार्यक्रममा सम्मान गरिएको छ । समूहको अध्यक्ष लक्ष्मी श्रेष्ठलाई सो कार्यक्रममा सम्मान गरिएको हो । त्यस्तै संस्थामा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य कविता खनाललाई पनि सम्मान गरिएको छ ।
कृषिमा आधुनिकीकरण जरुरी – मेयर श्रेष्ठ
कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले कृषिमा आत्मनिर्भर नभएसम्म नगरमा आर्थिक समृद्धि नहुने भन्दै किसानहरुले कृषिको आधुनिकीकरणमा ध्यान दिनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख श्रेष्ठले कृषिमा प्रयोगमा आधुनिक मेशिन, उन्नत बीउको प्रयोग गरी व्यवसायिक खेती गर्न किसानहरुलाई आग्रह समेत गरेका थिए । कृषिमा आधुनिकीकरण आजको आवश्यकता रहेको भन्दै श्रेष्ठले नगरपालिकाले कृषि क्षेत्रको विकासको लागि बजेट विनियोजन गरेकोले कृषि सहकारीहरु मार्फत् कृषि क्षेत्रको विकासमा नगरपालिका सधै हातेमालो गरेर अगाडि बढ्ने समेत बताए ।
संस्थाका अध्यक्ष दिपक लामिछानेको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा कालिका वडा नं. ६ का वडाध्यक्ष बिनोद रेग्मी, कालिका वडा नं. १ का वडाध्यक्ष लिला बहादुर गुरुङ्ग, कृषि सेवा केन्द्र रत्ननगरका प्रमुख शिवराज पौडेल, खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद भण्डारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानीका कार्यवाहक अध्यक्ष गणेश शर्मा पौडेल, उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामा, संस्थापक अध्यक्ष लक्ष्मीनारायण चौलागाई, पूर्व अध्यक्ष भिम प्रसाद लामिछाने, सुरक्षित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शितलकाजी श्रेष्ठ लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका उपाध्यक्ष सुदर्शन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा कोषाध्यक्ष द्रोणाचार्य रेग्मीले आर्थिक प्रतिवेदन, अध्यक्ष दिपक लामिछानेले संस्थाको भावी नीति तथा कार्यक्रम र लेखा संयोजक टिकाराम रेग्मीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
No comments:
Post a Comment