Monday, November 27, 2017

चितवनको विकासका लागि कुनै कसर बाँकी राख्दिन ः अध्यक्ष दाहाल

चितवन, ११ मंसिर  ः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

चितवनको माडी नगरपालिका–४ घोसरीमा आज आयोजित चुनावी सभामा उहाँले चितवनमा विकासको मूल फुटाउने बताउँदै विकासका लागि कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभयो ।

वाम गठबन्धनबाट चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष प्रचण्डले आफू पहिलोपटक चितवनबाट उम्मेदवार बनेको भन्दै चितवनको नमूना विकास गर्दै त्यसै अनुसार देशको विकास र आर्थिक समृद्धिका लागि आफ्नो सम्पूर्ण जीवन बिताउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “चितवनको माडीमा धेरै किसिमका समस्या छन्, चितवन प्रचुर सम्भावना बोकेको जिल्ला हो, तैपनि यहाँको विकास अत्यन्त कमजोर छ, आफूले जितेपछि यहाँको विकासमा कुनै कसर बाँकी राख्ने छैन ।”

अध्यक्ष दाहालले रेवा खोला लगायतका धेरै ठाडा खोलाले जनतालाई धेरै समस्या पारेको बताउँदै तटबन्ध र रिङरोड बनाएर माडी क्षेत्रका जनतालाई सुरक्षित बनाउन आफूले सक्दो पहल गर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “माडीको एकीकृत विकास गर्ने परिकल्पना गरेको छु यहाँको विकासमा स्थानीय र प्रदेश सरकारले मात्रै सम्भव छैन, त्यसैले मैले वाम गठबन्धनसँग पनि यो कुरा गरिसकेको छु ।”

माडीवासीलाई हात्ती, बँदेल, भालु लगायतका जंगली जनवारले दुःख दिने गरेकोमा आफू जानकार रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसका लागि चुरेलाई घेर्ने गरी रिङरोड बनाउने प्रतिबद्धतासमेत गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...