Saturday, November 4, 2017

ठूला दलबाट मुस्लिम र थारु समुदाय ठगिएको गुनासो

सञ्जय मित्र, रौतहट
ठूला दलहरुले रौतहटमा मुस्लिम तथा थारु समुदायबाट प्रादेशिक सभा तथा प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार नबनाएपछि ठगिएको गुनासो बढेको छ । प्रतिनिधि सभाको चारवटा क्षेत्र र प्रादेशिक सभाको आठ वटा क्षेत्र प्रत्यक्ष निर्वाचनको लागि रहेको रौतहटमा थारु समुदायबाट नेपाली काँग्रेसले एकजनालाई पनि उम्मेदवार बनाएको छैन । नेपाली काँग्रेसमा थारु समुदायको ठूलो लगानी र त्याग गरेको छ तर नेपाली काँग्रेसबाट कोही पनि उम्मेदवार नहुँदा थारु समुदायमा काँग्रेसपति असन्तुष्टि बढेको छ ।

यसै गरी वाम गठबन्धनले पनि थारु समुदायलाई रौतहटमा प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छैन ।
रौतहटमा थारु समुदायको उपस्थिति दश प्रतिशतको हाराहारीमा रहेको थारु अगुवाहरुले बताएका छन् । रौतहटका थारुहरुको वाम राजनीतिभन्दा प्रजातान्त्रिक राजनीतिमा ठूलो लगानी र त्याग रहेको छ तर नेपाली काँग्रेसले थारु समुदायलाई प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वेवास्ता गरेपछि पार्टीले मूल्य चुकाउनु पर्ने नेपाली काँग्रेसका असन्तुष्ट कार्यकर्ता देवेन्द्र चौधरीको भनाइ छ ।

जिल्लामा १७ प्रतिशतको संख्यामा रहेको मुस्लिम समुदायलाई फोरम – राजपा गठबन्धनबाट उम्मेदवार नबनाइँदा मुस्लिम समुदायमा पनि असन्तुष्टि बढेको छ । मधेस आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको मुस्लिम समुदायलाई फोरम–राजपा गठबन्धनले प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि उम्मेदवार नबनाएपछि असन्तुष्टि बढेको हो ।
मुस्लिम समुदायको राम्रो बाहुल्य रहेको जिल्लामा मधेसवादी पार्टीले मुस्लिम समुदायमाथि अन्याय गरेको आरोप मुस्लिम समुदायको रहेको छ । फोरम–राजपा गठबन्धनले मुस्लिम समुदायलाई आन्दोलनको लागि उपयोग मात्र गर्ने गरेको र भोट बैंकको रुपमा मात्र हेरेको आरोप मुस्लिम समुदायको रहेको छ । आफूलाई मधेसवादी दल भन्नेहरुले मुस्लिम समुदायलाई बेवास्ता गरेको मधेश आन्दोलनमा निकै सक्रिय रहेका मुस्लिम अगुवा कौशल खान मिथिलाले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...