Wednesday, November 29, 2017

शोक सन्तप्त परिवारप्रति आयोगको समवेदना

काठमाडौँ, १३ मंसिर  ः निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका क्रममा खटिनुभएका शिक्षक टंक गौतम, कार्यालय सहयोगी लेखनाथ निउरे, म्यादी प्रहरी विनोद चौधरी र मतदाता शिक्षा कार्यकर्ता आनन्द गुरुङको निधन भएकामा गहिरो दुःख प्रकट गरेको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारीअनुसार, रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका सिद्धेश्वर मावि मतदान केन्द्रमा खटिएका निमावि शिक्षक टंक गौतम निर्वाचनपश्चात् घर फर्किने क्रममा बाटोमा नै मृत अवस्थामा फेला पर्नुभएको थियो ।

मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका वडा नं २ छोसेरस्थित दिव्यदीप मावि छोसेर मतदान स्थलमा खटिनुभएका कार्यालय सहयोगी लेखनाथ निउरेको मंसिर १२ गते बिहान निधन भएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

उहाँ मतपेटिकासहित जोमसोम आउँदा अचानक बिरामी भई जोमसोम अस्पतालमा सामान्य उपचारपश्चात् फिर्ता हुनुभएकामा १२ गते बिहान पुनःबिरामी भई अस्पताल ल्याउँदा उहाँलाई मृत घोषणा गरिएको जानकारी प्राप्त भएको छ ।

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ तुलसी बोर्डिङ स्कुल नजिकको चोकमा अज्ञात समूहले विस्फोट गराउँदा सोही नगरपालिका वडा नं १८ बस्ने २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा १३ गते विहान निधन भएको छ ।

सो घटनामा परी गम्भीर घाइते पाँच जनाको उपचार भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

शंखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं ८ मावादिन बस्ने मतदाता शिक्षा कार्यकर्ता (जिल्ला समन्वय समितिका सामाजिक परिचालक) आनन्द गुरुङको मंसिर ८ गते सरस्वती मावि मतदान स्थलबाट फर्कने क्रममा निधन भएको आयोगले जनाएको छ ।

निर्वाचनमा खटिनुभएका स्व गौतम, निउरे, चौधरी र गुरुङप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै आयोगले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । आयोगले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...